बारा बस दुर्घटना अपडेट: घाइतेलाई थप उपचारका लागि भरतपुर लगियो

बारा बस दुर्घटना अपडेट: घाइतेलाई थप उपचारका लागि भरतपुर लगियो


ग्लोब नेपाल
54
Shares

मकवानपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ मा बस दुर्घटनामा घाइते ३६ मध्ये २० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ ।

हेटौँडाको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल, सञ्चो अस्पताल र मकवानपुर सहकारी अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिउ । प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१४, नयाँबस्तीका १४ वर्षीय अमृत लोप्चन, सोही ठाउँका १२ वर्षीय विज्ञान घिसिङ, चितवनको खैरेनी नगरपालिका–८ का ५४ वर्षीय भीमसेन अधिकारी र खैरहनीकै ३८ वर्षीया रविना अधिकारीलाई उपचारका लागि चितवन लगिएको हो ।

यसैगरी हेटौँडा उपमहानगर-१४ चुरियामाईकी ३४ वर्षीया ठूलीमाया स्याङ्तान, सोही स्थानकी ३५ वर्षीया मञ्जुकुमारी लोप्चन, पर्साको वीरगञ्ज महानगरपालिका-१६ की २२ वर्षीया रविना चौरसिया, सोही स्थानका २५ वर्षीय सन्दिप चौरसिया, ४० वर्षीया लक्ष्मीदेवी चौरसिया र ६२ वर्षीया मालती चौरसिया पनि उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।

यस्तै हेटौँडा उपमहानगर–७ की १७ वर्षीया सोनिया श्रेष्ठ, बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२२ का ११ वर्षीय शिशिर विक, हेटौँडा उपमहानगर–१४ का १५ वर्षीय प्रशान्त स्याङ्तान, वीरगञ्ज महानगर-१६ का ११ वर्षीय दिवी आयान चौरसिया, सोही स्थानका प्रिन्स चौरसिया, चितवनका २० वर्षीय आयुस बाँस्तोला र वीरगञ्ज-१६ का सात वर्षीय दीपेश चौरसियालाई पनि थप उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ।

यसैगरी हेटौँडा उपमहानगर-८ का १७ वर्षीय सलमान आलम, सोही ठाउँका १५ वर्षीय सवनम खातुन र हेटौँडा उपमहानगर-१४ की सात वर्षीया सुविना घिसिङलाई पनि थप उपचारका लागि चितवन पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६-००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । बसमा करिब ५० जना सवार थिए । मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।