मौसमः पश्चिममा आईतबारसम्म वर्षाको संभावना, पूर्वमा क्रमिक सुधार

मौसमः पश्चिममा आईतबारसम्म वर्षाको संभावना, पूर्वमा क्रमिक सुधार


ग्लोब नेपाल
81
Shares

काठमाडौं । पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुँदै जानेछ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद सन्जिव अधिकारीले जानकारी दिए । ‘आज पनि कर्णाली, सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको संभावना रहन्छ,’ अधिकारीले भने, ‘लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षा हुने संभावना देखिन्छ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

अबको ३ दिन पूर्ण रुपमा वर्षा रोकिने संभावना भने नभएको विभागले जनाएको छ। हाल नेपालमा बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको छ । केही दिनयता लगातार वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली छ । बाँकी प्रदेशहरूमा भने सामान्य बदली रहेको र सुदूर पश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।