काठमाडौं । डडेलधुराबाट नेकपा एमालेले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी नदिने भएको छ ।
सुदुरपश्चिम प्रदेशका पूर्व मन्त्री पठानसिंह बोहोरालाई नेकपा एमाले डडेलधुराले प्रतिनिधि सभातर्फ एकल सिफारिस गरेको थियो । तर उनलाई पछि हटाएर नेपाली कांग्रेस (बीपी) का बरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रतिनिधि सभाका लागि १६ सिट छ । जसमा नेकपा एमालेले १५ सिटमा आफ्नो उम्मेदवार उठाउने र एक सिट(डडेल्धुरा) नेपाली कांग्रेस (बीपी) का उम्मेदवार मल्ललाई समर्थन गर्ने गरी उम्मेदवार टुंग्याएको छ । यो सँगै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २४ वर्ष साथ दिएका मल्लले उनीसँगै प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो । त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो ।
डडेल्धुराको प्रदेश सभातर्फ भने दुबै क्षेत्रमा एमालेले उम्मेदवारी दिने भएको छ । पठानसिंह बोहोरा र गजेन्द्र शाही एमालेबाट प्रदेश तर्फका उम्मेदवार हुनेछन् ।
प्रतिक्रिया