काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा.भीमबहादुर रावलको टिकट खोसिएपछि उनको गृहजिल्लामा असन्तुष्टि तीव्र भएको छ।
अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस रावलको टिकट खोसिएपछि एमाले अछाममा विद्रोहको सुरु भएको छ । विद्रोहको सिलसिला क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहबाट सुरु भएको छ । अछाम–१ बाट एकल सिफारिसमा परेका नेता रावललाई टिकट नदिएपछि क्षेत्रीय निर्वाचन कमिटी संयोजक शाहले पदबाट राजीनामा दिएका छन्।
अछाम जिल्ला कमिटीलाई दिएको राजीनामा पत्रमा उनले जिल्ला इन्चार्ज झपट बोहराकै प्रमुख आतिथ्यतामा भएको बैठकले सर्वसम्मत रुपमा रावलको एकल नाम सिफारिस गरेको थियो। तर केन्द्रले अर्कैलाई टिकट दिएपछि नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने शाहले उल्लेख गरेका छन्।
रावलको नाम काटेर एमालेले क्षेत्र नं.१ मा सुदूरपश्चिमका पूर्व आर्थिक मामिलामन्त्री झपट बोहरालाई टिकट दिएको छ। त्यसले एमाले अछाममा असन्तुष्टि चुलिएको हो ।
एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका छन्। उनीहरुको यो विद्रोहले एमालेले ठुलो क्षति व्यहोर्नुपर्ने छ ।
प्रतिक्रिया