पाल्पा-२ मा एमाले र पूर्व एमालेबीच कडा प्रतिस्पर्धा

पाल्पा-२ मा एमाले र पूर्व एमालेबीच कडा प्रतिस्पर्धा


ग्लोब नेपाल
2.2k
Shares

काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले पाल्पामा आ-आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् ।

प्रतिनिधि सभाको दुई र प्रदेश सभाको ४ निर्वाचन क्षेत्र रहेको पाल्पामा एमालेले सबै उम्मेदवार छनोट गरेको छ । यता, सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले पनि प्रतिनिधि सभाको एक मात्रै सिट पाएको पाल्पामा उम्मेदवार टुंगो लगाइसकेको छ ।

नेकपा एमालेका तर्फबाट पाल्पा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नारायणप्रसाद आचार्यले टिकट पाएका छन् । यस्तै, क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा राजुप्रसाद श्रेष्ठ र (ख) मा खिमबहादुर सारुलाई एमालेले उम्मेदवार बनाएको छ ।

यसैगरी, पाल्पा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेले केन्द्रीय सदस्य ठाकुर गैरेलाई उम्मेदवार बनाएको छ । प्रदेशसभा तर्फ (क) पर्शुराम भट्टराई र (ख) मा ओमबहादुर घर्ती उम्मेदवार बनेका छन् ।

यस्तै, एकीकृत समाजवादीको तर्फबाट पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पूर्वएमाले (हाल एकीकृत समाजवादी) सोमप्रसाद पाण्डे उम्मेदवार बनेका छन् । उनी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सम्धीसमेत हुन् । यसअघि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २ मा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

पाल्पा २ मा एमाले र पूर्व एमालेबीच कडा प्रतिस्पर्धा:

पाल्पाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एकिकृत समाजवादी)का नेता सोम प्रसाद पाण्डे र एमाले नेता ठाकुर गैरैको भिडन्त पक्का भएको छ ।

एमालेले मंसिर ४ गतेको चुनावमा गैरेलाई उम्मेदवार बनाइसकेको छ भने, उता, सोही क्षेत्रबाट निवर्तमान सांसद रहेका एकिकृत समाजवादीका नेता पाण्डेलाई गठबन्धनले साझा उम्मेदवार बनाएको छ । पाण्डले एकीकृत समाजवादीबाट प्रतिनिधि सभाको टिकटसमेत पाइसकेका छन् ।

पाण्डेले भुगोलमा निकै राम्रो सम्बन्ध र सम्पर्क भए पनि उनको पार्टीको खासै जनाधार नरहेको स्थानीय नेता कार्यकर्ताहरु बताउने गरेका छन् । उता, गैरे भने विद्यार्थी राजनीतिबाट उदायका नेता हुन्, उनी जिल्लामा निकै चर्चित युवा नेताका रुपमा परिचित छन् । पहिलो पटक संसदीय निर्वाचन लड्ने तयरी गरेका गैरेलाई गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले चुनौती भने पक्कै दिनेछन् । तर, गैरे भने जिल्लामा युवा पुस्तामा निकै लोकप्रिय उम्मेदवार हुन् ।

०७४ मा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट एमालेबाट उम्मेदवार बनेका पाण्डेले ३४ हजार ८९९ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार हरिप्रसाद नेपालले २४ हजार ५५४ मत प्राप्त गरेका थिए ।

पाल्पा २ मा गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका आधारमा एमाले अगाडि छ । एमालेले यहाँ ३० हजार ५३६ मत पाएको छ भने नेपाली कांग्रेसले २९ हजार ३९ मत पाएको छ । माओवादीले भने ४ हजार ३१३ र एकीकृत समाजवादीले ४३३ मत मात्रै पाएको छ ।

स्थानीय तहमा कमजोर देखिएका पाण्डेलाई निर्वाचन जित्न कांग्रेस र माओवादीको भरोसा छ । अन्तत: नेकपा एकीकृत समाजवादीका पाण्डे र एमालेबाट अनेरास्वयूका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका गैरेबीच कडा टक्कर हुने आंकलन गरिएको छ।