अष्टलक्ष्मी शाक्य उम्मेदवार नबन्ने, विकल्प खोज्न ओलीलाई आग्रह

अष्टलक्ष्मी शाक्य उम्मेदवार नबन्ने, विकल्प खोज्न ओलीलाई आग्रह


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौं निर्वाचन क्षेत्र ८ बाट उम्मेदवार नबन्ने बताएकी छिन् ।

एमालेले काठमाडौं ८ बाट प्रतिनिधि सभामा उठाउने प्रस्ताव गरेको थियो । शाक्यले आफू संसदीय राजनीतिबाट विदा लिने भएकोले उम्मेदवार नहुने बताएकी हुन् । अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार टेलिफोन गरेर विकल्प खोज्न आग्रह गरेकी छन्। ‘फेरि यस्तो कुरा नगर्नुहोस्, मैंले अब संसदीय राजनीतिबाट बिदा लिन्छु भनेको छु’, शाक्यले भनिन्, ‘विकल्प खोज्न पनि आग्रह गरेको छु ।’

उपाध्यक्ष शाक्यले उम्मेदवारको आकांक्षा समेत राखेकी थिइनन् । काठमाडौ‌ ८ मा एमालेमा बलियो उम्मेदवार देखिएको छैन । शाक्यको विकल्पमा बलियो उम्मेदवार नभएका कारण ओली शाक्यलाई उम्मेदवार बनाउन चाहिरहेका छन्। ‘एउटै व्यक्तिले कति चुनाव लड्ने, कतिपटक मन्त्री र प्रधानमन्त्री हुने ?’ उनले भनिन्, ‘जनता दिक्क भइसके । अब नयाँलाई अवसर दिनुपर्छ, अवसर नपाएकालाई अवसर दिइनु राम्रो हो ।’

टिकट वितरणको अधिकार ओलीलाई दिने निर्णय गरेको सचिवालय बैठकपछि पनि उपाध्यक्ष शाक्यले आफू चुनाव नलड्ने बताएकी थिइन् । ‘महिलालाई उम्मेदवार बनाउन सक्नु हुन्न भने पुरुष भए पनि नयाँ आओस् भनेको थिएँ, तर फेरि मलाई नै उम्मेदवार बनाउने भन्ने आयो’, शाक्यले भनिन् ।

शाक्यले कुनै हालतमा संसदीय राजनीतिमा नफर्कने अडान लिएपछि ओली विकल्प खोज्न तयार भएका छन् ।