समानुपातिक प्रतिनिधित्व हुने गरी उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको आग्रह

समानुपातिक प्रतिनिधित्व हुने गरी उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको आग्रह


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

शनिबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान, कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, क्षेत्र, लिंग, समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी दिन आग्रह गरेका हुन् ।

प्रमुख आयुक्त थपलियाले भने, ‘उम्मेदवारी मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान तथा विद्यमान कानुनको व्यवस्था तथा मर्मबमोजिम सबै वर्ग, क्षेत्र, लिंग, समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आयोग विशेष आग्रह गर्दछ।’

मनोनयन दर्ताका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाएको जानकारी दिँदै प्रमुख आयुक्त थपलियाले दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदातासमक्ष पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आयोगको तर्फबाट आह्वानसमेत गरे ।

आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतहरुको कार्यालय र ८८ वटा निर्वाचन अधिकृत कार्यालय स्थापना गरिसकिएको बताए ।

आयोगले आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि समय दिएको छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन आगामी मंसिर ४ गते आईतबारका लागि तय गरिएको छ ।