एमालेमा ओली कार्यशैलीको पराकाष्टाः कतै विद्रोह, कतै पार्टी परित्याग, कतै राजीनामा

एमालेमा ओली कार्यशैलीको पराकाष्टाः कतै विद्रोह, कतै पार्टी परित्याग, कतै राजीनामा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार छनोटमा एकलौटी गरेको भन्दै पार्टीभित्रै बाट विद्रोह सुरु भएको छ । पछिल्लो समय मुख्यगरी अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्ने नेताहरूलाई दण्डित गरिएको छ ।

फेरि एक पटक सिंगो देशको नेतृत्व गर्ने योजनामा अघि बढेको एमालेले आफ्नै दलभित्र फरक विचार राख्ने नेताहरूलाई पाखा लगाएपछि देशभरबाट पार्टी छोड्ने र पार्टीले दिएका पदबाट राजीनामा दिने होडबाजि नै चलेको छ । एमाले नेताहरुका अनुसार अध्यक्ष ओलीको कायैशैलीकै कारण पार्टीका विद्रोह सुरु भएको हो ।

आम निर्वाचनको उम्मेदवारीको मुखैमा एमाले नेताहरुको यस्तो विद्रोहको स्वरले पार्टीभित्र छाएको निराशालाई मात्र बताउँदैन, एमालेभित्र चुलिँदै गएको असन्तुष्टि र अन्तरविरोधलाई समेत छताछुल्ल पारी दिएको छ । मुख्यत राप्रपा र जसपासँग तालमेल गर्ने निर्णयका कारणले एमालेभित्र अन्तरविरोध बढ्दै गएको हो । आफ्ना उम्मेदवारलाई पाखा लगाएर ओली अन्य दलका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमालेमा देखिएको अन्तरविरोध छताछुल्ल पोखिएको हो ।

कोहि पार्टी छोड्दै, कोहि राजीनामा दिदैँ
एमाले अछाममा विद्रोहः

एमाले अध्यक्ष ओलीले पार्टीका सिनियर नेता भीम रावललाई प्रतिनिधि सभाका लागि ढोका बन्द गरेर पूर्वाग्रह साँधेका छन् । रावलसँग पूर्वाग्रह साँधेपछि एमाले अछामा विद्रोह सुरु भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् । एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन् ।

पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरुले पार्टी छाडेको एमाले अछामका नेताहरुले बताएका छन् ।

एमाले महासचिव शंकर पोखरेलकी बहिनी समानुपातिक सूचीको एक नम्बरमा अटाउँदा अछामका भीम रावल कतै अटाएनन् । नेता रावलले पार्टीमा विद्रोह गर्ने की के गर्ने भन्ने बारे आफु अध्ययनमै रहेको बताए । ‘म पार्टीबाट उम्मेदवार बन्न बञ्चित भएको व्यक्ति हुँ’, रावलले भने, ‘के गर्ने भन्ने कुरा अध्ययन गर्दैछु ।’ रावल जिल्लाका नेता कार्यकर्ताको सुझाव अनुसार अघि बढ्ने स्रोतको भनाई छ ।

भूसालले त्यागे एमाले

यसैबीच एमाले नेताहरुलाई होली वाइन खुवाउने एकनाथ ढकाल समानुपातिक उम्मेदवार बन्दा वैचारिक नेता घनश्याम भुसालको टिकट खोसियो । उनको खोसिएको टिकट ओलीले राप्रपालाई दिएपछि भुसालले शनिबार पार्टी नै छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा शनिवार दिउँसो उनले एक विज्ञप्ति राख्दै ‘नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको’ उल्लेख गरेका छन्।

नेता भुसालले अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि एमालेका नरहने निष्कर्षमा पुगेका बताएका छन् । ‘तर म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु’, उनले लेखेका छन् । नेकपा एमालेभित्र भूसाल अध्यक्ष ओलीका आलोचक रहेका थिए ।

ठाउँ–ठाउँमा विद्रोहः

एमाले नेतृत्वले देखाएको यो व्यक्ति वादी सोच र व्यवहारका कारण पार्टीभित्र ठाउँ–ठाउँमा विद्रोहको स्वर सुनिन थालेको छ । यस्तै,सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)मा खड्कबहादुर खत्रीले टिकट नपाएपछि एमालेमा विद्रोह सुरु भएको छ । यस अघि एकल प्रदेश सभा सदस्यमा उम्मेदवारका लागि एकल सिफारिस भएका खत्रीको टिकट खोसिएको भन्दै विद्रोह थालिएको हो।

जसमा सिफारिसमै नपरेका नेकपा एमालेका नेता डण्डीप्रसाद शर्मालाई केन्द्रीय पार्टी कमिटीले टिकट दिएको छ । शनिबार नेकपा एमाले सुर्खेतको जिल्ला सचिवालय बैठकले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)को टिकट परिवर्तन तत्काल परिर्वतन गर्नुपर्ने निर्णय गरेको छ । नेकपा एमाले सुर्खेत अध्यक्ष अमृतकुमार बिसीले उक्त क्षेत्रको टिकट परिर्वतन नभए निर्वाचन जिताउन नसकिने बताएका छन । उनले हारको जिम्मेवारी केन्द्रीय कमिटीले लिनुपर्ने निर्णय गरेर एमाले केन्द्रीय कर्यालयलाई चिठी पठाएको बताए ।

यसैगरी, उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै एमाले मोरङमा असन्तुष्टि चुलिएको छ । एमाले मोरङ सचिव रुपेश खतिवडाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति, सिद्धान्त, विधि पद्धति र प्रकृया विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्य भएको भन्दै आफ्नो असहमति रहेको उनले बताएका छन् ।

उता, धरानमा जनता समाजवादी पार्टी (जसपा) लाई सुनसरी–१ दिइएपछि नेकपा एमालेका असन्तुष्ट नेताहरुले विद्रोहको तयारी गरेका छन् । शनिबार असन्तुष्ट नेताहरुले भेला गरेर पार्टी नेतृत्वसँग निर्णय सच्याउन आग्रह गरेका छन् । ‘पार्टी नेतृत्वलाई आज राति १२ बजेभित्र निर्णय सच्याउन समय दिएका छौं । निर्णय नसच्चिए विद्रोह हुन्छ’, धरानका पूर्वमेयर मनोज मेयाङ्बोले भने ।

यसैगरी, उता दाङकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले समानुपातिकमा टिकट नपाएको झोंकमा शुक्रबार नै एमाले परित्याग गरी स्वतन्त्र उठ्ने घोषणा गरिसकेकी छन् ।