काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता भीमबहादुर रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाएकोमा आक्रोश व्यक्त गरेका छन् ।
रावलले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष केपी शर्मा ओलीले अन्यायपूर्ण, स्वेच्छाचारी निर्णय गरिरहेको भन्दै कडा आलोचना गरेका छन् । रावलले आफूलाई टिकट नदिएकोप्रति भने, ‘अछाम १ बाट एमालेका निम्ति कुनै योगदान नगरेको, सिफारिस नै नगरेको व्यक्तिलाई टिकट दिइयो । पार्टी पदाधिकारी र ओलीले गरेको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत छ।’
पार्टीमा विधि र अनुशासन कायम नरहेको रावलको भनाई छ । उनले पार्टीमा परामर्श नै नहुने गरेको र आफूविरुद्ध अनावश्यक भ्रम फैलाउने काम भएको बताएका छन् । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए । उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेको आरोप पनि लगाए ।
रावलले दशकौं पार्टीमा पसिना बगाएका इमान्दार कार्यकर्तालाई पाखा लगाएर जनताबाट अस्वीकृत व्यक्तिलाई उम्मेदवार बनाउनु कसरी न्याय संगत भयो भनेर प्रश्न पनि गरेका छन् ।


प्रतिक्रिया