काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं २ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेता ओनसरी घर्तीको खुलेरै प्रसंशा गरेका छन् ।
काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै देउवाले ओनसरी घर्ती साहसी महिला भएको बताए । देउवाले ओनसरी पार्टीभन्दा पनि राष्ट्रको हित हेर्ने बताए ।
‘ओनसरी साहसी महिला हुनुहुन्छ । सभामुख हुँदा अत्यन्तै कुशलतासाथ जिम्मेवारी पुरा गर्नुभएको छ । मलाई त विश्वास पनि थिएन’, प्रधानमन्त्री देउवाले भने,‘तर सफलतापूर्वक जिम्मेवारी पुरा गर्नुभयो । सभामुख हुँदा पार्टी भन्दा पनि राष्ट्रको हित हेर्नुभयो, अब उहाँलाई अत्यधिक बहुमतले जिताउनुपर्छ ।’
देउवाले प्रतिगमनको खतरा अझै बाँकी रहेको पनि बताए । ‘नेपालमा लडेर ल्याएको यो प्रजातन्त्र जो छ यसलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझैपनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ’, प्रधानमन्त्री देउवाको भनाइ छ ।
देउवाले कुनै पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको पनि बताए । आफूहरुले मिलेर चुनाव लड्ने संस्कृतिको विकास गरेको उनको भनाय छ । उनले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्र र प्रजातन्त्रलाई स्थायित्व दिनुपर्छ। प्रतिगमनको खतरा अझै छ। त्यसैले सबै मिल्नुको विकल्प छैन। संविधान समावेशी र जनताको पक्षमा भएकाले त्यसको रक्षा गर्नुपर्छ।’
गठबन्धन चुनौती र अवसर दुवै भएकाले सचेत भएर लाग्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।
प्रतिक्रिया