सहरी विकासमन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टिकरण

सहरी विकासमन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टिकरण


ग्लोब नेपाल
405
Shares

काठमाडौं । निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

आचारसंहिता उलंघन गरेको भन्दै आयोगले आइतबार मन्त्री चौधरीलाई स्पष्टिकरण सोधेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने कुनै काम गर्न नहुने उल्लेख भएको भन्दै आयोगले चामल वितरण गर्दा आचारसंहिता उल्लंघन भएन भन्ने पुष्ट्याइँको आधार के छ भनी सोधेको छ ।

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ?,’ आयोगले मन्त्री चौधरीलाई सोधेको छ । 

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सहरी विकासमन्त्री चौधरीले राहत सामाग्री वितरण गरेपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको आयोगका प्रवक्ताज एवम् सहसचिव शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार चौधरीले शनिबार दाङको देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सामाग्री वितरण गरेका थिए ।

विपदको समयमा राहत वितरण गर्नैपर्ने भएमा जिल्ला प्रशासन कार्यालय मार्फत गर्न सकिने हुँदाहुँदै आफैं किन उपस्थित भएको भनेर पनि आयोगले सोधेको छ।

चौधरीले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल बाडेका थिए । आयोगले आइतबार उक्त कार्य आचारसंहिता बिपरित भएको ठहरसहित २४ घण्टे स्पष्टिकरण सोधेको हो ।