काठमाडौं । १० वटा जिल्ला मिलेर बनेको कर्णाली प्रदेशमा प्रतिनिधि सभाका लागि १२ निर्वाचन क्षेत्र रहेका छन् । जसमा सुर्खेत र दैलेखमा २/२ वटा र अन्य ८ जिल्लामा १/१ वटा निर्वाचन क्षेत्र छन् । ती १२ सिटमै गठबन्धनविरुद्ध एमाले एक्लै निर्वाचनमा होमिएको छ ।
१० वटै जिल्लामा सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ । १२ सिटमा नेकपा माओवादीलाई ५ सिट, कांग्रेसलाई ४ सिट र समाजवादीको भागमा तीन सिट परेको छ । एमालेले १० वटै जिल्लाका १२ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउँदा गठबन्धनबाट भने कांग्रेसले सुर्खेतका दुवै क्षेत्र, दैलेख-२ र मुगुमा उम्मेदवार उठाएको छ । माओवादीले रुकुम पश्चिम, जाजरकोट, कालिकोट, जुम्ला र हुम्लामा सिट प्राप्त गरेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले गठबन्धनबाट सल्यान, दैलेख-२ र डोल्पा प्राप्त गरेको छ ।
२०७४ सालको निर्वाचनमा कर्णालीमा नेकपा माओवादी र एमालेबीच चुनावी तालमेल हुँदा कांग्रेसले एक सिट पनि जितेको थिएन । यसपटक भने कांग्रेस गठबन्धनको सहारामा पुनरागमन खोजिरहेको छ । यता, एमाले भने ०७४ को आफ्नो विरासत जोगाउने दाउमा लागि रहेको छ ।
गठबन्धन भर्सेस एमाले
कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा वर्षौदेखि मुख्यगरी नेकपा एमाले र नेपाली कांग्रेसबीच नै प्रतिस्पर्धा हुँदै आएको छ । यसपटक पनि कांग्रेस र एमालेबीचमै प्रतिस्पर्धा हुनेछ । प्रतिनिधि सभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा क्षेत्र नम्बर–१ बाट कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एमालेका निर्वतमान सांसद ध्रुर्व शाहीबीच रोकचक प्रतिस्पर्धा हुनेछ ।
०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता शाहीले खड्कालाई ३ हजार ३८२ मतान्तरले पराजित गरेका थिए । शाही ३६ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए । उनै शाहीलाई साथ दिएको माओवादी अहिले खड्कासँग रहेको छ । माओवादी, एकीकृत समाजवादी सहितको गठबन्धन एकातिर र एमाले एक्लै अर्कोतिर हुँदा खड्का–शाहीबीचको चुनावी भिडन्त रोचक हुने देखिन्छ । पूर्व गृहमन्त्री खड्का राष्ट्रिय राजनीतिमा बलियो हुँदै गएका छन् । यदि खड्काले गठबन्धनभित्रका तीन वटै दलको पूर्ण सहयोग प्राप्त गरेको खण्डमा उनी बलियो दाबेदार हुन् र उनको जित पनि निश्चित छ ।
यस्तै, सुर्खेत क्षेत्र नम्बर २ मा यसअघिको ०७४ को निर्वाचनमा वाम गठबन्धनका एमालेका उम्मेदवार नवराज रावतसँग पराजित कांग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी पुनः यसपटकको प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । ०४८ सालदेखि एमाले नेता यामलाल कँडेलसँग प्रतिस्पर्धा गर्दै आएका थानी संघीयतापछिका निर्वाचनमा भने नयाँ–नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्दै आएका छन् । ०७४ मा एमालेका रावतसँग पराजित भएका उनी आगामी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका सुर्खेत जिल्ला अध्यक्ष अमृत कुमार बिसीसँग प्रतिस्पर्धा गर्दैछन् ।
०७४ मा झण्डै ९ हजार मतान्तरले पराजित भएका नेता थानी यो पटक भने बलियो प्रतिस्पर्धीको रुपमा चुनावी मैदानमा छन् । उनलाई गठबन्धनको साथ छ । यता एमालेले पनि जिल्लामा राम्रो छवि बनाएका बिसीलाई चुनावी मैदानमा उतारेको छ बिसी पनि एमालेभित्र बलियो प्रभाव राख्ने नेतामा पर्दछन् । प्रदेश राजधानीसमेत भएको क्षेत्र भएकाले दुई नेताबीचको चुनावी भिडन्त पनि रोचक बन्ने देखिन्छ । एमालेले अघिल्लो ०७४ सालको स्थानीय तहको निर्वाचनमा भन्दा यसपटक नतिजा सुधार गरेको छ ।
यसैगरी कर्णाली प्रदेशको अर्को जिल्ला रुकुम पश्चिम नेकपा माओवादी केन्दको भागमा परेको छ । माओवादीको आधार इलाकाका रुपमा परिचत रुकुम पश्चिममा अन्य दलको खासै प्रभाव देखिदैन् । यो क्षेत्रबाट माओवादीका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्मा विजयी हुँदै आएका छन् । यस पटक सत्तारुढ गठबन्धनका तर्फबाट पनि उनी नैं उम्मेदवार बनेका छन्। ०७४ मा ३४ हजार ४०२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनीसँग यो पटक एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जनार्दन शर्माले ०७४ मा कांग्रेस प्रतिस्पधीलाई झण्डै १७ हजार मतान्तरले पराजित गरेका थिए । यो जिल्लामा माओवादी एक्लै र अन्य सबै दल एकातिर हुँदा पनि माओवादीकै प्रभाव बढी देखिन्छ ।
माओवादीको भागमा परेको कर्णालीको अर्को जिल्ला कालिकोटमा प्रतिनिधि सभाका लागि एक मात्रै सिट रहेको छ । कालिकोटबाट यसपटक कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन् । उनलाई कांग्रेस र एकीकृत समाजवादीको पनि साथ छ । शाहिको प्रतिस्पर्धीको रुपमा एमाले जिल्ला इञ्चार्ज नगेन्द्र शाही ‘नेशनल’ मैदानमा छन् ।
गत वैशाख ३० को स्थानीय चुनावमा एमालेले कुनै पनि पालिका जित्न नसकेको कालिकोटमा माओवादीलाई एकीकृत समाजवादी र कांग्रेसको साथले शाहीलाई प्रतिनिधि सभा निर्वाचनमा थप सहज बनाएको छ । तर, कांग्रेसभित्रको आन्तरिक विवादले कति सहयोग गर्छ उनको जितमा त्यो हेर्न बाँकी नै छ । यता एमालेका उम्मेदवार शाही पनि जिल्लामा राम्रै प्रभाव राख्ने नेतामा पर्छन् । कालिकोटमा एकीकृत समाजवादीको खासै प्रभाव छैन् । एकीकृत समाजवादीका प्रभावशाली नेता तथा कर्णाली प्रदेशका पूर्वमन्त्री कुर्मराज शाही एमालेमै फर्किएर प्रदेश सभाको उम्मेदवार समेत बनिसकेका छन् । त्यसकारण पनि कालिकोटमा एकीकृत समाजवादीको खासै प्रभाव छैन् ।
कर्णाली प्रदेशको अर्को जिल्ला दैलेखमा प्रतिनिधि सभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । जसमध्ये क्षेत्र नम्बर एक नेकपा एकीकृत समाजवादी र क्षेत्र नम्बर दुई नेपाली कांग्रेसले पाएको छ । क्षेत्र नम्बर एकमा गठबन्धनको साझा उम्मेदवारका रुपमा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापा र एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्माबीच कडा प्रतिस्र्धा हुने भएको छ ।
यी दुवैजना पूर्वसहकर्मी समेत हुन् । थापाले १४ वर्ष जिल्लामा एमालेको नेतृत्व गरेका थिए । दैलेखमा एमालेको सांगठिक अवस्थालाई विस्तार गर्न ठुलो भूमिका खेलेका थापा ०७४ मा १२ हजार ५६७ मत सहित प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए । उनले कांग्रेसका जगतजंग थापालाई २ हजार बढी मतान्तरले पराजित गरेका थिए।
एमाले विभाजनसँगै नेकपा एकीकृत समाजवादीमा लागेका उनी आफ्नै पूर्व सहकर्मी शर्मासँग चुनावै मैदानमा उत्रिएका छन् । शर्मा ०७४ मा प्रतिनिधि सभामा २३ हजार ७७३ मतसहित विजयी भएका थिए । यी दुई पूर्व सहकर्मीबीचको चुनावी भिडन्त रोचक हुने देखिन्छ । तर, जनाधारका हिसाबले यो क्षेत्रमा नेकपा एकीकृत समाजवादी कमजोर छ । थापाले जितका लागि कांग्रेसकै भर पर्नुपर्ने छ । दैलेख एकमा एमालेको भने मजबुत संगठन रहेको छ । दैलेखमा माओवादी खासै संगठन छैन् ।
यस्तै, प्रतिनिधि सभातर्फ दैलेख क्षेत्र नम्बर-२ मा एमालेबाट २०७० सालको संविधानसभा सदस्य लक्ष्मी पोखरेल र सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका दिक्पाल शाही उम्मेदवार बनेका छन् । शाही ०७४ मा प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशका पूर्व सभामुख राजबहादुर शाहीसँग ३ हजार मतान्तरले पराजित भएका थिए । एमाले नेता पोखरेल दैलेखको राजनीतिमा प्रभावशाली तथा शालिन नेता मानिन्छन् । साथै यस क्षेत्रमा पनि एमालेको मजबुत संगठन रहेको छ । यहाँ सत्तारुढ गठबन्धनका कांग्रेस बाहेक अन्य घटकको प्रभाव खासै देखिँदैन ।
कर्णाली प्रदेशको जुम्लामा नेकपा माओवादी केन्द्रका गजेन्द्र महतले मैदान खाली गरिदिएपछि माओवादीले गोमा गौतम (कुँवर)लाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ । एमालेबाट रतननाथ योगी उम्मेदवार बनेका छन् । उनी एमालेका जिल्ला इञ्चार्ज हुन् । योगी पनि जुम्लामा राम्रै छवि भएका नेतामा पर्दछन् । यद्यपि जुम्ला राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पनि उम्मेदवार छन् । उनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन्न् । शाही युवा माझ लोकप्रिय पनि छन् ।
कर्णालीको अर्को जिल्ला जाजरकोटमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत र एमालेका निरज आचार्यले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । एमालेका केन्द्रीय सदस्यसमेत रहेका आचार्य र माओवादी केन्द्रका नेता बस्नेतको गृह पालिका भेरी हो । लामो समयदेखि चुनाव जित्दै आएका बस्नेतको प्रभाव जिल्लामा राम्रै भए पनि पटक पटक मन्त्री बन्द खासै काम गर्न नसकेको अरोप लाग्ने गरेको छ । यता एमालेका उम्मेदवार आचार्य युवामाझ निकै लोकप्रिय नेता मानिन्छन् । जिल्लामा युवापुस्तामा राम्रो छविसमेत आचार्यले बनाएका छन् ।
एकीकृत समाजवादीको भागमा परेको अर्को जिल्ला सल्यानमा प्रतिनिधि सभाको एकमात्रै क्षेत्र रहेको छ । उक्त क्षेत्रबाट गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वालासँग प्रतिस्पर्धा गर्न एमालेले नयाँ अनुहारका रुपमा राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ । उनी केही समय अघिसम्म राप्रपामा थिए । एमाले प्रवेश गरेर टिकट पाएका हुन् ।
एमाले विभाजन हुनुभन्दा पहिला ज्वालानै शक्तिशाली नेताको रुपमा स्थापित थिए । यद्यपि अहिले ज्वाला नेकपा एकीकृत समाजवादीतिर लाग्दा एमालेको सांगठनिक अवस्था कमजोर छ । ज्वालापछि प्रभावशाली नेताको रुपमा चिनिने गुलाबजंग शाह प्रदेशसभा चुनाव लड्ने भएपछि ज्वालालाई सहज भएको छ । प्रदेश सरकारको अर्थमन्त्री भइसकेका ज्वाला ०५१ सालमै प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए ।
कर्णालीको हिमाली जिल्ला हुम्लामा गठबन्धनकोतर्फबाट प्रतिनिधि सभा माओवादीको भागमा परेको छ । प्रतिनिधि सभामा एमालेबाट कर्णालीका पूर्व मन्त्री दल रावल र माओवादीबाट पूर्व मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) उम्मेदवार छन् । लामा कर्णाली सरकारमा ६ महिना बिना विभागीय मन्त्री थिए । रावल भने पूर्व सामाजिक विकास मन्त्री हुन् । लामा–रावलबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । तथापि माओवादीका केन्द्रीय सदस्य छक्कबहादुर लामा अहिले एमालेमा प्रवेश गरेर प्रदेशसभाको उम्मेदवार बनेका छन् । लामा पनि हुम्लामा बलिया मानिन्छन् । उनले ०७४मा स्वतन्त्रबाट चुनाव जितेका थिए ।
कर्णाली प्रदेशको अर्को हिमाली जिल्ला मुगुमा गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाही र एमालेबाट राजबहादुर कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस नेता शाही ०७० को संविधानसभा निर्वाचनमा एमालेका मोहन बानियाँसँग पराजित भएका थिए । कार्र्की पहिलो पटक चुनाव लड्दैछन् । यद्यपि कार्कीको विगत भने अस्थिर छ । उनी सुरुमा कांग्रेस, त्यसपछि राजावादी, माओवादी हुँदै दुई वर्षअघि एमालेमा प्रवेश गरेका हुन् ।
कर्णालीको अर्को अलि विकट हिमाली जिल्ला डोल्पामा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । उनीसँग एमालेका गणेशबहादुर शाहीले प्रतिस्पर्धा गर्ने भएका छन् । डोल्पामा नेकपा एकीकृत समाजवादीको खासै प्रभाव नभए पनि बुढाको व्यक्तिगत प्रभाव निकै राम्रो छ । शाही एमाले विभाजनपछि समाजवादीमा लागे पनि पछि एमालेमै फर्किएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री समेत भइसकेका बुढा ०७४ मा ११ हजार ७६१ मत ल्याएर एमालेबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया