प्रचण्डको कटाक्ष: गोरुगाढावालाहरु फेरि प्रतिक्रान्तितिर देशलाई लैजानेमा छन्

प्रचण्डको कटाक्ष: गोरुगाढावालाहरु फेरि प्रतिक्रान्तितिर देशलाई लैजानेमा छन्


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति अझै नफेरिएको आरोप लगाएका छन् ।

मंगलबार ललितपुरमा आयोजित सत्ता गठबन्धनको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीप्रति लक्षित गर्दै ‘गोरुगाडावालाहरु’ अहिले पनि प्रतिक्रान्तितिर देशलाई लान सक्रिय भएको आरोप लगाए । उनले भने, ‘गोरुगाडावालाहरु गोरुगाडा चढेर कहीँ न कहीँ फेरि प्रतिक्रान्तितिर देशलाई लैजानेमा छन्।’ संविधान सभापछि समानुपातिक र लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै ‘गोरुगाडा’वालाहरु अझै नसच्चिएको बताए ।

सबै समय एमाले अध्यक्ष ओलीप्रति खर्चिएका प्रचण्डले वाम गठबन्धन गर्दा आफूहरुले धोका पाएको बताएका हुन् । उनले भने, ‘मंसिर ४ को निर्वाचनमा दुईवटा विचार, दुईवटा प्रवृत्ति र दुईवटा गठबन्धन आमनेसामने छन् । यो दुई गठबन्धनको उद्देश्य के छ र किन प्रतिस्पर्धा गर्दैछन् भन्नेर गम्भीरतापूर्वक बुझ्नुपर्छ । जनतालाई सच्चा गठबन्धनको पक्षमा ल्याउनुपर्छ ।’

१२बुँदे समझदारी गर्दा नेपालमा संविधान सम्भव छैन भन्ने नेताहरुसमेत रहेको उनको भनाइ छ । ‘गणतन्त्र ल्याउनु र गोरुगाढा चढेर अमेरिका जानु एउटै हो भन्ने नेताहरु पनि थिए । हामीले बिर्सन हुँदैन । त्यो प्रवृत्ति थियो । गोरुगाढा प्रवृत्तिविरुद्ध आन्दोलन गरेर देश संघीयता र लोकतान्त्रिक गणतन्त्रमा गएको हो’, उनले भने, ‘समावेशी र समानुपातिक सिद्धान्तमा गइसकेपछि हिजो गोरुगाढावाला नेताहरु त बद्लिए भन्ने लागेको थियो । तर, होइन रहेछ ।’

एमालेले देशमा अराजकता ल्याएर सामन्तवादलाई स्थापित गराउन चाहेको उनले आरोप लगाए ।