काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक/पटक संविधानविरोधी कदम चालेको आरोप लगाएका छन् ।
मंगलबार सत्ता गठबन्धनले ललितपुरमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओलीले रातारात संसद् विघटन गरेको स्मरण गरे । उनले मध्यराति राष्ट्रपतिलाई उठाएर ओलीले संसद् भंग गरेको आरोप लगाए । ‘ओलीजीले दुई पटकसम्म संसद् विघटन गर्नुभयो । जनताले चुनेको संसद्लाई मनपरी गरेर भंग गर्न मिल्दैन । संविधानमा निश्चित अवस्थामा बाहेक संसद् भंग गर्न पाइँदैन भन्ने व्यवस्था छ’, देउवाले भने, ‘तर ओलीजीले राति २ बजे नै राष्ट्रपतिजीलाई उठाएर संसद् भंग गर्नुभयो,’ देउवाले भने, ‘त्यही काम बिहान गरेको भए पनि हुन्थ्यो, दिउँसो गरेको भए पनि हुन्थ्यो । त्यसरी राति नै गर्नुपर्ने के परेको थियो कुन्नि ?’
प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री ओलीले दुई वर्षअघि नै संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई माँस्ने प्रयास गरेको अरोप लगाए । ‘अहिलेको यो संविधान राम्रो संविधान छ, यो संविधान बचाएर सबैले मिलेर देशको विकास गर्नुको विकल्प छैन,’ उनले भने, ‘अहिले गठबन्धन छ, जहाँ जो उम्मेदवार छ, त्यही भोट हालौँ । जहाँ रुख छ, त्यहाँ हालौँ । कलम भएपनि हालौँ, हँसिया हथौडा भए पनि हालौँ ।’
आफूहरुले गठबन्धन गरेर संसद बचाएको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले गठबन्धनको पक्षमा एकजुट भएर लाग्न आग्रह गरे । आफ्नो नेतृत्वमा सरकार बनेपछि देशलाई समृद्ध बनाउने अभियानमा लागेकोसमेत उनले बताए।
‘देश महत्वपूर्ण मोडमा छ । नेपालमा कोभिडले गर्दा हाहाकार भएको थियो । अहिले डेंगुले सताएको छ । श्रीलंकाको जस्तो हालत हुन्छ भन्नेहरु पनि थिए, होस् भन्ने पनि थिए । तर, हामीले नेपाललाई सम्पन्न देश बनाउने बाटोमा लाँदैछौं । हामी अहिले सुधारको बाटोमा छौं’, देउवाले भने ।
प्रतिक्रिया