काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिता उल्लंघन गरेको आयोग टुलुटुलु हेरेर नबस्ने चेतावानी दिएका छन् ।
शुक्रबार (आज) विराटनगरमा प्रदेशस्तरीय सञ्चारमाध्यम सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारबाही गरिने बताए । ‘अहिले नै आयोगले कसैलाई कारबाही गरेको छैन,’ उनले भने,‘माकुराको जालोमा झिँगा पस्न शुरू भएको छ, अब निस्कियो भने बच्यो, निस्किएन भने सकियो ।
थपलियाले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूलाई स्पष्टीकरण सोध्दा उनीहरूले कोकोहोलो मच्चाएको समेत बताए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रति लक्षित गर्दै उनले स्पष्टीकरण सोधिएको विषयमा उम्मेदवारहरूले कोकोहोलो मच्चाएको देख्दा अचम्म लागेको बताएका हुन् । उनले भने, ‘स्पष्टीकरण सोध्दा नै यस्तो भएको छ भने अब हप्ता दिन पछिको निर्णयले भूकम्प ल्याउँछ ।’
प्रतिक्रिया