बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको बताएका छन् ।
शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान रक्षाका लागि गठबन्धन बनेको भन्दै भोलिका दिनमा पनि गठबन्धनकै सरकार दावि गरे । ‘देशविरूद्व षड्यन्त्र गर्नेलाई परास्त गर्न यो गठबन्धन भएको हो, यसलाई परास्त गर्न अझै गठबन्धन जरूरी छ’, देउवाले भने ।
गठबन्धन भएकाले पार्टीमा सबै टिकट पाउन नसकेको बाध्यता बुझिदिन नेता कार्यकर्तालाई उनले आग्रह गरे । ‘गठबन्धनविरूद्व राजावादी जुटेका छन्, अझै उनीहरू राजावादी रे, हामी यो व्यवस्थाका लागि लड्ने अहिले उनीहरूले हामीलाई आरोप लाउने’,उनले भने, ‘अहिलेको व्यवस्था ल्याउन हामी लडेका हौ, जय नेपाल नि हामी हौं, लालसलाम नि हामी हौं, अभिवादन पनि हामी नै हौँ । यो गठबन्धनलाई धेरै पछिसम्म लैजानु छ ।’
प्रधानमन्त्री देउवाले निर्वाचन पनि गठबन्धनले जित्ने र सरकार पनि गठबन्धनको बन्ने बताउँदै भने, ‘बुद्वभूमिमा उभिएर मैले भने यो गठबन्धन बलियो छ, ढुक्कसँग जिताउन लाग्नुहोस् ।’
प्रतिक्रिया