रुपन्देही क्षेत्र नम्बर २ मा राजु गुरुङको उम्मेदवारी खारेज

रुपन्देही क्षेत्र नम्बर २ मा राजु गुरुङको उम्मेदवारी खारेज

सर्वोच्चद्वारा निर्वाचन अधिकृतको निर्णयलाई मान्यता


ग्लोब नेपाल
162
Shares

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर-२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो ।

 न्यायाधीश खतिवडा र रेग्मीको इजलासले गुरुङ २०७४ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र त्यसमा कुनै कानुनी उपचार प्राप्त नगरेकाले कालो सूचीमा कायम रहेको देखिएको र उम्मेदवार हुन नमिल्ने ठहर गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) मा कालोसूचीमा रहेको व्यक्ति त्यस अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था छ ।सर्वोच्चको यो आदेशसँगै गुरुङ अब उम्मेदवार रहेनन् । 

सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने ठहर गरेको छ । ‘निवेदक राजु गुरुङले २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानूनी उपचार प्राप्त गरेको भन्ने पनि देखिएन । कालोसूची कायम रहेको भन्ने देखियो’, आदेशमा भनिएको छ, ‘कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन ।’

यसअघि निर्वाचन अधिकृतको कार्यालयले गुरुङको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा रिट दिएका थिए ।