विराटनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको बताएका छन् ।
विराटनगरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट पारे ।
प्रधानमन्त्री देउवाले आशन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्दै भने, “विकास र परिवर्तनका निम्ति यो गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ ।” रुख, कलम र गोलाकार भित्रको हँसिया हथौँडा चिह्नमा भोट हाल्न कार्यकर्तामा अन्योलता आउन नहुने बताउँदै उनले गठबन्धनमा उम्मेदवारलाई अत्यधिक भोट हालेर जिताउन अपिल गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले निर्वाचन सामान्य प्रक्रिया भए पनि यो निर्वाचन खास उद्देश्यका लागि भएको बताए । विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने भन्दै अध्यक्ष दाहालले बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा युगान्तकारी परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृतिका विरुद्धमा गठबन्धन बनेको बताए ।
शान्ति सम्झौताको निरन्तरताकै रुपमा गठबन्धन अगाडि बढेको बताउँदै अध्यक्ष दाहालले आशन्न निर्वाचनमा गठबन्धनमा उम्मेदवारलाई जिताउन कार्यकर्ता एवं नेतालाई निर्देशन दिए । गर्वका साथ एकले अर्कालाई खुशीसाथ मत खसाल्न आग्रह गर्दै उनले भने, “समृद्धि र सुशासनका लागि पनि गठबन्धनले जित्नुपर्छ ।”
प्रतिक्रिया