काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गरेको बताएका छन् ।
बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गठबन्धन रहरले नभएर लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गरेको बताएका हुन् । सोही कार्यक्रममा गठन्धनका शीर्षनेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई र रामचन्द्र पौडेलले पनि सत्ता स्वार्थका लागि नभएर हालसम्मको राजनीतिक उपलब्धी रक्षाका लागि गठबन्धन गर्नुपरेको बताएका थिए ।
उनीहरुपछि सम्बोधन गरेका सभापति देउवाले संविधान रक्षाको लागि आफूहरुले गठबन्धन गरेको दाबी गरे । संविधानलाई स्थायी शान्तिको रुपमा लिएको बताएको र यसको रक्षाका लागि पनि गठबन्धन गरेको उनको भनाइ छ ।
‘यो संविधान समावेशी छ । त्यसकारण यो संविधानको हामीले रक्षा गर्नुपर्छ । संविधानलाई हामीले स्थायी शान्तिको रुपमा लिएका छौं । अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको संविधानको चर्चा हुन्छ’, प्रधानमन्त्री देउवाले भने, ‘रहरले होइन आवश्यकताले बनेको गठबन्धन हो । गठबन्धन अपरिहार्य थियो, छ र रहनेछ । लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गरेका हौं ।’
देशभर गठबन्धनको माहोल बनेको उनले बताए । गठबन्धन छ जित्छौं भनेर ढुक्कसँग नबस्न उनले सबैलाई सचेत गरे ।
प्रतिक्रिया