एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने, एकैदिन ३ ठाउँमा आमसभा

एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने, एकैदिन ३ ठाउँमा आमसभा


ग्लोब नेपाल
81
Shares

कैलाली । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले सुदूरपश्चिमबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ ।

एमालेले देशव्यापी चुनावी अभियान त्रिदेशीय सीमा नाकामा अवस्थित दार्चुला जिल्लाबाट सुरु गर्ने भएको हो । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले कात्तिक १८ गते पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियानको थालनी गर्ने जानकारी दिए । उनका अनुसार हेलिकप्टरमार्फत दार्चुला पुगेर ओलीले सदरमुकाम खलंगामा बिहान ११ बजे आमसभालाई सम्बोधन गरेर चुनावी अभियान थालनी भएको घोषणा गर्नेछन् ।

ओली सरकारको पालामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर जारी गरेको चुच्चे नक्सा सार्वजनिक गरिएको थियो । अहिले यहाँबाटै अभियान सुरू गरिनुलाई आफ्नो सरकारको पालामा अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेको मुद्दालाई एमालेले यो चुनावमा सशक्त रूपमा उठाउने भनेर अर्थ लगाउन थालिएको छ ।

प्रदेश सचिव पाठक पनि एमाले सरकारको पालामा चुच्चे नक्सा जारी भएको र अब एमाले नेतृत्वकै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने दाबी गर्छन् ।‘भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली क्षेत्र हो भन्ने कुरा पुष्टि भइसकेको छ’ उनले भने ‘अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौँ ।’

उनकाअनुसार १८ कात्तिक दार्चुलाबाट अभियान थालनी गरेपछि ओलीले सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।