भीम रावलको प्रश्नः सिमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ?

भीम रावलको प्रश्नः सिमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ?


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । नेकपा (एमाले)का प्रभावशाली नेता डा. भीम रावलले सिमानामा भारतीय पक्षले ज्यादती गर्दा परराष्ट्र मन्त्रालय मौन रहेकोमा प्रश्न गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेता रावलले शनिबार सामाजिक संजालबाट भारतले सडक निर्माणका क्रममा विस्फोट गर्दा खसेको ढुंगाबाट नेपाली भूमिमा बालक पवन महराको मृत्युको घटनामा परराष्ट्र मन्त्रालयले बोल्नुपर्ने माग गरेका हुन् । उनले दार्चुला घटनाको विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक भूमिका खेल्नुपर्ने भन्दै उक्त टिप्पणी लेखेका हुन् ।

‘दार्चुलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काइ महाकालीमा बगाएको १ वर्ष बित्दा नबित्दै सडक निर्माणमा गरेको विस्फोटको ढुंगा लागी ९ वर्षीय पवन महराको दुःखद् निधन भएको छ । १४ वर्षीया सरीना महरा घाइते भएकी छन्,’ उनले सोधेका छन्, ‘सिमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ? घाँटी कसले अँठ्यायो ?

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक महराको मृत्यु भएको थियो ।

दार्चुलामा भएको घटनाको बारेमा परराष्ट्र मन्त्रालयले आधिकारीक रूपमा केही बोलेको छैन । उक्त घटनाको सामाजिक संजाललगायतमा विरोध भइरहेको छ र सरकारले यस घटनाका विषयमा बोल्नुपर्ने र विरोध जनाउनुपर्ने माग भइरहेको छ ।