सिन्धुपाल्चोकमा-२ मा तामाङ र बस्नेतको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

सिन्धुपाल्चोकमा-२ मा तामाङ र बस्नेतको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?


ग्लोब नेपाल
8.2k
Shares

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को निर्वाचन रोचक बन्ने भएको छ । प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका कारण यो पटकको निर्वाचन रोचक बनेको हो ।

यस क्षेत्रमा २०७० र २०७४ मा निर्वाचित नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तामाङ यसअघिको जीतलाई कायम राख्ने दाउमा छन्, भने बस्नेत यो क्षेत्रमा खाता खोल्ने दाउमा रहेका छन् । एमालेका तर्फबाट तामाङ एक्लै चुनावी मैदानमा होमिएका छन्, भने बस्नेत लोकतान्त्रिक बाम (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राष्ट्रिय जनमोर्चालगायत) गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्नका लागि अग्निप्रसाद सापकोटा र मोहन बस्नेत दुवैको बलियो जिकिर थियो । पूर्वसभामुखसमेत रहेका सापकोटा २०७४ मा बस्नेतलाई पराजित गरेर माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

सिट बाँडफाँटमा माओवादीले सिन्धुपाल्चोक– १ पायो भने नेपाली कांग्रेसले सिन्धुपाल्चोक-२ पायो । माओवादीले माधवप्रसाद सापकोटालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नं २ मा मोहनबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । खासमा बस्नेतको निर्वाचन क्षेत्र १ हो ।

गत स्थानीय तहको चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा सिन्धुपाल्चोक–२ मा एमाले पहिलो दल बनेको थियो । एमालेले ३१ हजार सात सय ७६ मत पाउँदा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २९ हजार तीन सय दुई मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रले १६ हजार ७९ मत पाउँदा राप्रपाले पाँच हजार नौ सय ३२ र नेकपा एकीकृत समाजवादीले एक हजार छ सय ६३ मत पाएको थियो ।

लामो समय माओवादीबाट राजनीति गरेर हालै मात्र एमाले प्रवेश गरेका चौतारा साँगाचोकगढीका पूर्व मेयर अमानसिंह तामाङलाई सिन्धुपाल्चोक २ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवार एमालेले बनाइएको छ । गठबन्धनकातर्फबाट नेकपा माओवादीका युवराज दुलाल साझा उम्मेदवार रहेका छन् । दुलाल यसअघि विसं २०७४ मा पनि यसै प्रदेशबाट निर्वाचित सांसद हुन् ।

यस्तै सिन्धुपाल्चोक २ को (ख) बाट प्रदेशसभाका लागि एमालेले हस्तबहादुर पण्डितलाई उम्मेदवार बनाएको छ । पण्डित २०७४ को निर्वाचनमा हेलम्बु गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पासँग पराजित भएका थिए । उता सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले युवा नेता कृष्णकुमार तामाङलाई अघि सारेको छ ।

गठबन्धनका नेताहरुले भने टिकट वितरण र विगतको राजनीतिमा जेजस्ता अनुभव भए पनि अब टिकट पाउनेलाई जिताउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् । देशभर एमाले एक्लै र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा रहेकाले प्रतिस्पर्धीका रुपमा जिल्लामा पनि नेताहरुले आ–आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली कांग्रेसका जिल्ला सभापति जङ्गबहादुर लामाले बताए।

एमालेका नेताहरुले पनि सिन्धुपाल्चोक-२ को चुनावी नतिजा पार्टीकै प्रतिष्ठासँग जोडिएको बताउँदै आएका छन् । स्थानीय तहको निर्वाचनमा भएको मत नियाल्दा पहिलो दल एमाले भए पनि गठबन्धनमा रहेका दलको मत जोड्दा एमालेको मत केही कम देखिन्छ । एमालेका जिल्ला अध्यक्ष कमल नेपालले भने आत्तिनुपर्ने अवस्था नरहेको बताउछन् ।

कांग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक-१ बाट चुनावी प्रतिस्पर्धामा भाग लिँदै आएका थिए । विसं २०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका बस्नेतले २०५६ मा उनै बोहरालाई नै हराएर सांसद बनेका थिए । विसं २०६४ मा टिकट पाए पनि हार बेहोर्नुपरे पनि २०७० मा चुनाव जितेर बस्नेत मन्त्रीसमेत बनेका हुन् । अघिल्लो संसदीय चुनावमा उनी माओवादीका अग्नि सापकोटासँग पराजित भएका थिए । अहिले बस्नेत गठबन्धको सहयोगमा क्षेत्र नम्बर २ मा झरेका हुन् ।

एमाले उम्मेदवार शेरबहादुर तामाङले सुरुका दुई चुनाव हारेका थिए, भने पछिल्ला दुवै चुनाव जितेका हुन् । पहिलो पटक २०५६ मा नेकपा मालेबाट सिन्धुपाल्चोक-३ मा उम्मेदवार बनेका उनले २०६४ सालमा एमालेबाट उम्मेदवार बनेपछि पराजय बेहोर्नु परेको थियो । विसं २०७० मा सिन्धुल्पोल्चोक-३ बाटै पहिलो पटक तामाङले चुनाव जितेका थिए । तीन वटा निर्वाचन क्षेत्र घटेर अहिले दुईवटामा झरेपछि तामाङ २०७४ सालमा क्षेत्र नं २ बाट विजयी भएका थिए ।