ओखलढुंगामा एमाले नाजुक स्थितिमा

ओखलढुंगामा एमाले नाजुक स्थितिमा



काठमाडौं । स्थानीय निर्वाचनमा ओखलढुंगामा पछिपरेको नेकपा एमाले संघीय निर्वाचनमा नराम्रोसँग पछारिने संकेत देखिएको छ । स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त गरेको मत, कांग्रेसभित्र देखिएको एकता, गठबन्धनमा देखिएको उत्साह र कांग्रेस उम्मेदवार रामहरि खतिवडाले सिर्जना गरेको जनलहरले मंसिर ४ को निर्वाचनमा एमाले फेरि उठ्न नसक्ने गरी पछारिने विश्लेषण गरिएको छ ।

नेपाली कांग्रेसको विरासत ठानिएको ओखलढुंगामा गत आम निर्वाचनमा एमालेका यज्ञराज सुनुवार निर्वाचित भएका थिए । उनी निर्वाचित भएसँगै कांग्रेसले आन्तरिक विवाद मिलाउन नसक्दा पाँच वर्ष खेर गएको महसुस ओखलढुंगेली जनताले गरेका छन् । यो घटना पुनः दोहोरिन नदिने कुरामा ओखलढुंगेली कांग्रेस एक ढिक्का रहेको बुझिएको छ ।

एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगामा यसपटक एमालेले मोलुङ गाउँपालिकाबाहेक अरु कुनै जित्न सकेन । जसपा, माओवादी केन्द्र र स्वतन्त्रले एक–एक पालिका जितेका छन् भने कांग्रेसले चारवटा पालिका आफ्नो पक्षमा पारेको छ । स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका ज्ञानेन्द्र रुम्दाली पनि कांग्रेसी नै हुन् । प्राविधिक कारणले स्वतन्त्र उम्मेदवारी दिनुपरेको बताइन्छ । उनको विजयी जुलुस कांग्रेसकै झण्डा फहराउँदै घुमेको देखिएकै हो ।

ओखलढुंगाको आठ पालिकामा ७५ वडा रहेका छन् । कांग्रेस एक्लैले ४५ वडा जितेको छ भने एमालेले २०, माओवादीले ८, जसपाले २ वटा वडा जितेको छ । वडामा खसेको मतलाई विश्लेषण गर्दा पनि कांग्रेस नै अगाडि छ । कांग्रेसले ३२ हजार २ सय ८८ मत प्राप्त गर्दा एमालेले २९ हजार ५ सय ९१ मत प्राप्त गरेको छ । यस्तै माओवादीले ६ हजार ९ सय १६ मत र जसपाले २ हजार १ सय ४ मत प्राप्त गरेको थियो ।

संघीय निर्वाचनमा एमाले एक्लो छ । एमालेको सहयात्री जनता समाजवादी पार्टी नेपाल विभाजित भएकाले उसको सबै मत एमालेले पाउने सम्भावना छैन । गठबन्धनसँग ३९ हजार २ सय ४ मत हुँदा एमालेसँग २९ हजार ५ सय ९१ मत मात्र हुन्छ । यो मत संख्या एमालेभन्दा ९ हजार ६ सय १३ बढी हो । एमालेभन्दा गठबन्धनका उम्मेदवारहरु धेरै अगाडि रहेको तथ्यांकले स्पष्ट देखाउँछ ।

ओखलढुंगामा यसपटक पनि कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुँदैछ । उम्मेदवारहरु पनि पुरानै अर्थात् गठबन्धनले रामहरि खतिवडालाई अगाडि सारेको छ भने एमालेले यज्ञराज सुनुवारलाई नै उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार रहेका सुनुवार कांग्रेस उम्मेदवार खतिवडाभन्दा ५ हजार २ सय ५३ बढी मत ल्याएर विजयी भएका थिए ।

यसपटक चुनावी माहोल ठीक उल्टो छ । एमाले एक्लो मात्र छैन, विभाजित पनि छ । एमालेबाट अलग रहेकासमेत गठबन्धनमा आबद्ध छन् । एमाले विभाजित हुँदा सुनुवार स्पष्ट हुन सकेका थिएन । एउटा खुट्टा नेकपा (एस) र अर्को खुट्टा एमालेमा राखेर केही समय हिडेका थिए । उनको यो ढुलमुले चरित्रबाट एमाले अध्यक्ष केपी शर्मा ओली सन्तुष्ट थिएनन् । यद्यपि ओखलढुंगामा एमाले पराजित हुने संकेत पाएपछि एमालेले अन्तिम समयमा सुनुवारको हातमा टिकट थमाइदिएको हो ।

प्रदेशमा पनि गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । मंसिर ४ को निर्वाचनपछि प्रदेशमा समेत एमाले पत्तासाफ हुने स्पष्ट मानचित्र सार्वजनिक भइसकेको छ । खिजिदेम्बा, चिसंखुगढी, मोलुङ र सिद्धिचरण नगरपालिकाको १० नम्बर वडाबाहेक सबै वडा समेटिएर प्रदेश (क) बनेको छ । गत निर्वाचनमा लोकप्रिय मत ल्याएर निर्वाचित भएका अम्बिरबाबु गुरुङलाई कांग्रेसका प्रभावशाली नेता प्रदीप सुनुवारले विस्थापित गर्ने देखिन्छ ।

खिजिदेम्बामा जनता समाजवादी पार्टीले जिते पनि त्यसका ९ वटा वडामध्ये ७ वडामा कांग्रेस विजयी भएको छ । त्यहाँ एमाले कमजोर देखिन्छ । यस्तै मोलुङमा कांग्रेस–एमाले बराबरीजस्तै देखिन्छ । नगरपालिकामा एमाले वडा नं. ४ र ५ मा मात्र विजयी भएको छ । बाँकी ९ वटा वडामा कांग्रेस प्रभावशाली भएकाले पनि सुनुवारको जीत लगभग सुनिश्चितजस्तै छ ।

लिखु, चम्पादेवी, सुनकोशी, मानेभञ्ज्याङ, सिद्धिचरण नगरपालिकाको वडा नं. १० प्रदेश (ख) मा पर्छ । गत निर्वाचनमा माओवादीका मोहनकुमार खड्कासँग कांग्रेस उम्मेदवार प्रदीप सुनुवार झिनो मतले पराजित भएका थिए । तर यसपटक गठबन्धनले माओवादीका बाबुराम गौतमलाई उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा एमालेका ज्ञानबहादुर खड्कासँग हुनेछ । कांग्रेस बाहुल्य यो क्षेत्रमा एमाले उम्मेदवार पराजित हुने निश्चित छ ।

करिब १२ हजार मत अन्तरले आफू विजयी हुने आंकलन गरेका प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा पछिल्लोे अवस्थामा ओखलढुंगामा देखिएको कांग्रेसप्रतिको जनलहरले उत्साहित छन् । समृद्ध ओखलढुंगा, विकसित ओखलढुंगा बनाउने एक मात्र ध्येय बोकेका खतिवडाको सपना यसपटक पूरा हुने बाटोमा देखिन्छ ।