आगामी निर्वाचन एमालेको एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्छः ओली

आगामी निर्वाचन एमालेको एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्छः ओली


ग्लोब नेपाल
351
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुनै नसक्ने बताए । उनले यस पटक नेकपा एमालेबाहेकको राष्ट्रिय शक्ति जनताले बनाउन नहुने पनि बताए ।

आगामी निर्वाचनमा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उल्लेख गर्दै ओलीले अहिलेको सत्ता गबठन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर गरे । ‘अहिले एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गरिएन भने, एमालेको एकल बहुमत आएन भने देश दुर्भाग्यमा जान्छ । दुर्भाग्य भोग्नुपर्छ,’ ओलीले भने।

ओलीले परमादेशमार्फत एमालेको सरकार ढालेपछि देशको बेहाल भएको टिप्पणी गरे । सर्वोच्च अदालतभित्रै अराजकता मौलाएको उनको भनाइ छ । ओलीले भने, ‘त्यो यस्तो काम गरेछ अदालतले, त्यस दिनदेखि अदालत बेहाल अवस्थामा छ । कानूनविद्, वरिष्ठ अधिवक्ताको बहस, तमासा, सर्वोच्चको प्राङ्गणमा कम्फु कराँते, हडताल सबै देखियो । वकिलले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिनेसम्मको कस्तो क्रियाकलाप ?’

राष्ट्रले हार्ने कि जित्ने भन्ने महासंग्राम भएको ओलीले बताए । प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने उनको आह्वान छ । ‘प्रतिगामीहरू हामीलाई नै प्रतिगामी भन्दै छन्, उनीहरूलाई लाज छैन,’ ओलीले भने, ‘अहिलेको सरकार प्रतिगमनको फल हो, असंवैधानिक र असंसदीय हो ।’