एमालेले बुहमत ल्याउने गरी मत दिनुस्, एक्लै सरकार बनाउँछः ओली

एमालेले बुहमत ल्याउने गरी मत दिनुस्, एक्लै सरकार बनाउँछः ओली


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको दाबी गरेका छन् ।

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताए । “नेपाललाई बलियो योजना र प्रतिबद्धतासहितको राष्ट्रिय शक्ति चाहिएको छ”, एमाले अध्यक्ष ओलीले भने,“देशको विकास गर्ने र जनताको बलियो आधार भएको एमाले पार्टी हो ।”

देशको राष्ट्रियताको संरक्षण, मुलुकमा स्थायी शान्ति कायम गर्ने र जनताको भावना बुझेर विकास निर्माणको काम अघि बढाउने पार्टी भएको भन्दै उनले भने, “आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले बुहमत ल्याउने गरी मत दिनुस्, एक्लैले सरकार बनाउँछ ।”

अध्यक्ष ओलीले नेपालीले सहजतापूर्वक जीवनयापन गर्न मुलुकमा गरिबी निवारण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको आवश्यकता भएको र नेपाली जनताको ओइलाएका विश्वासलाई पुनःजागरण गर्नुका साथै देशभक्तिको भावना जागृत गर्न पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

संसारमै भएका नेपालीले देशलाई पीडा परेका बेलामा सहयोग गरेको स्मरण गर्दै उनले भने, “भूकम्प, बाढीपहिरो, कोभिड-१९ आदि जस्ता महामारीको पीडामा मलम लगाउने हातलाई म धन्यवाद दिन चाहान्छु, आगामी दिनमा पनि यहाँको यस्तै सहयोग भइरहोस् ।”

पूर्वप्रधानमन्त्री ओलीले प्रवासी नेपालीको योगदान उत्कृष्ट रहेको र नेपाल, नेपाली जनता, लोकतन्त्र, शान्ति, समृद्धिका क्षेत्रमा पनि सहयोग गर्न र आफूलाई बेवास्ता गरी राष्ट्रिय हितलाई मुख्य केन्द्रमा राखेर काम गरेकोप्रति उच्च प्रशंसा गरे ।

कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार, आचरण र क्रियाकलाप उच्च नैतिक चरित्रको हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले विश्वमा जुनसुकै ठाउँमा बसेपनि जन्मभूमि र जन्मभूमिका नेपालीलाई नबिर्सन आग्रह गरे ।