उम्मेदवारको मृत्यु भएको मोरङ ३ (१) मा मंसिर ४ मै निर्वाचन हुने

उम्मेदवारको मृत्यु भएको मोरङ ३ (१) मा मंसिर ४ मै निर्वाचन हुने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । मोरङ ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपनि त्यहाँको निर्वाचन नसर्ने भएको छ ।

मोरङ क्षेत्र नम्बर ३(१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापाको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा के हुन्छ भन्ने विषयमा निर्वाचन आयोगले स्पष्ट पारेको छ । थापाको मंगलबार बिहान डेंगी संक्रमणबाट निधन भएको थियो ।

आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले प्रदेशसभा उम्मेदवारको निधनको जानकारी आयोगलाई रहेको र त्यसबारे आयोगले पुनः मनोनयनलगायत सबै प्रक्रिया पूरा गर्ने र मंसिर ४ मा नै मतदानको तयारी भइरहेको बताए । थापाको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। ‘मोरङ ३ (१) को चुनाव मंसिर ४ मै हुन्छ’, प्रवक्ता पौडेलले भने,‘आजैदेखि सम्बन्धित दलको मनोनयन अघि बढाएर अन्य क्षेत्रसँगै त्यहाँ पनि चुनाव गर्छौँ।’

त्यहाँ कांग्रेसले अब अर्को व्यक्तिलाई मैदानमा सार्नुपर्नेछ । आसन्न मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुन लागेको छ ।