दाङ २ मा ‘हेभिवेट’ शंकर पोखरेललाई रेखा शर्मा चुनौती !

दाङ २ मा ‘हेभिवेट’ शंकर पोखरेललाई रेखा शर्मा चुनौती !


ग्लोब नेपाल
405
Shares

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङमा केन्द्रीय स्तरका नेताको प्रतिष्पर्धाले चुनावी माहाेल तातेको  छ । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्माबीचकाे प्रतिष्पर्धाले चुनावी सरगर्मी बढेकाे हाे ।

पूर्व मुख्यमन्त्री समेत रहेका पोख्रेल र माओवादीकी प्रभावशाली नेतृ तथा पूर्वमन्त्री शर्माबीचको प्रतिस्पर्धा देशभरी नै चर्चाको विषय बनेको छ । पोखरेलले प्रदेशको स्थायी राजधानी दाङ ल्याएको भन्दै जस लिन खोज्दैछन् भने शर्माले महिला नेतृ र सरकारमा रहँदा गरेका  कामको मूल्यांकनका आधारमा मत मागिरहेकी छन् ।

स्थानीय निर्वाचनमा यो क्षेत्रमा आएको मतका आधारमा भने गठबन्धन अगाडि देखिन्छ । स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाका चार वडा देउखुरी १ मा पर्छ भने तुलसीपुर उपमहानगरका चार वडा यस क्षेत्रमा थपिएका छन् । साथै, सिंगो बंगलाचुली गाउँपालिका पनि यस क्षेत्रमा गाँभिन आउँछ । 

यस्तै, घोराही उपमहानगरमा पर्ने तर यस निर्वाचन क्षेत्रमा नपर्ने वडाहरु हुन् वडा नम्बर १, २, ३,  र ५  । यी चारै वटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए । एमालेको गढ मानिने यी वडा यस क्षेत्रमा नपर्नुको प्रत्यक्ष घाटा एमालेका उम्मेदवार शंकर पोखरेललाई पर्ने देखिन्छ ।

यो क्षेत्रमा एमाले गठबन्धनभन्दा करिब ४५ सय मतले अघि थियो । स्थानीय तहमा एमालेको लागि हर्षको विषय बनेका वडा नम्बर १, २, ३ र ५  पोखरेलको लागि चिन्ताको विषय बन्न सक्छ । यद्यपि, पछिल्लो समय बंगलाचुलीमा एमालेले पार्टी प्रवेश र संगठन विस्तार अभियानलाई व्यापक बनाएकोले त्यसको असर आउँदो निर्वाचनमा कस्तो देखिने हो ? यो विषय रोचक छ ।  

तुलसीपुरको मतले गठबन्धलाई बहुमत:

जसरी घोराहीका चार वडा बाहिरिँदा त्यसको प्रत्यक्ष घाटा एमालेलाई पर्न सक्छ त्यसको ठिक विपरित यस निर्वाचन क्षेत्रमा गाँभिन आउने तुलसीपुर उपमहानगरपालिकाका चार वडाले गठबन्धलाई फाइदा पुर्‍याउँन सक्छ ।  

तुल्सीपुरबाट यो क्षेत्रमा गाँभिन आउने वडाहरू १६, १७, १८, १९ हुन् । यी चारमध्ये दुई वडामा एमाले, एउटामा कांग्रेस र एउटामा माओवादीको उम्मेदवार विजायी भएका थिए । यसमा पनि वडा नम्बर १६ मा गठबन्धनमा कुरा नमिलेपछि एकल प्रतिस्पर्धा गर्दा माओवादीका उम्मेदवार विजयी भएका थिए ।

यसको अर्थ यो हो कि अहिले यस वडामा रहेको कांग्रेसको मत र एकीकृत समाजवादीको मत पनि गठबन्धन थपिने हुँदा समग्रमा चार वडामा गठबन्धन करिब दुई हजार मतले अगाडि छ । तथ्यांकअनुसार यस क्षेत्रमा गठबन्धनको समग्र मत एमालेकाे भन्दा करिब ११ हजार बढी हुन आउने देखिन्छ ।

चुनाव परिणाममा निर्णायक बनाउने गाउँपालिका बंगलाचुली पनि हाे । बंगलाचुली पनि यही निर्वाचन क्षेत्रमा पर्छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बंगलाचुली गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीका तुल्सीराम पुन सुवाष पाँच हजार सात सय ४९ मतका साथ विजयी भएका थिए । एमालेका भेषराज खत्रीले तीन हजार ६ सय ७८ मत मात्रै ल्याएका थिए.। यहाँ गठबन्धनको भोट एमालेकाे भन्दा दुई हजार ७१ बढी छ । 

यसरी हेर्दा एमाले महासचिव पोखरेल ‘हेभिवेट’ भए पनि आउँदो निर्वाचनमा माओवादीकी  रेखा शर्मा चुनौती बन्न सक्छिन । तथ्यांकको आधारले मात्र हेर्ने हो भने दाङ २ मा गठबन्धन करिब १५ हजार मतले अगाडि देखिन्छ । तर चुनाव भनेको अंक गणित मात्र होइन ‘बीज गणित’ पनि हो ।

स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी ३१ हजार सात सय २८ मतका साथ नगर प्रमुखमा विजयी भएका थिए भने कांग्रेस र माओवादीको गठबन्धनका साझा उम्मेदवार हेमराज शर्मा ‘डायमण्ड’ ले २६ हजार तीन सय ६८ मत ल्याएका थिए । नरुलाल चौधरी र हेमराज शर्माको मतान्तर पाँच हजार तीन सय ६० थियो ।