संगत घाँसको

संगत घाँसको



हिजो
संगत त मैले
सोझो गाईको पनि गरें
आज
भर्खरै उभिदै गरेको
कटमेरे बहरको पनि गरें
अस्ति
सोझो गाउँले गोरूको पनि गरें
यी सबै गर्नै पर्ने भएर गरें।

अनि
अरुलाई लडाएर
आफैँ उक्लने
साँढेको जबरदस्त रहरको पनि गरें
महाशय,
यस्को अन्यथा अर्थ नलागोस्
संगत मैले
गर्नु हुनेको पनि गरें
गर्न नमिल्नेको पनि गरें
अलि अलि मात्र
गरे हुनेको पनि गरें
बिल्कुल गर्न नमिल्नेको पनि गरें
यी सब बाध्यताले गरें ।

हल्ला चलेकै छ शहरमा
शहर भित्रका घर घरमा
बाघले घाँस खाएको
उँटले
गोरू ब्याएको
परेवाले
कालो काग जन्माएको
गाईले पाडो जन्माएको
कुकुरले पाठी जन्माएको
यी सब सुन्ने कुरा हुन्
जब मान्छेले “कुरा ब्याउँछ”
अनि
त्यहाँ सब कुरा हुन्छ
हुने कुरा पनि हुन्छ
कहिँ कतै नहुने कुरा पनि हुन्छ
रातिका कुरा
अतितका कुरा
मिल्ने कुरा
नमिल्ने कुरा
गोप्य कुरा
सबै कुरा छरपष्ट हुन्छन्।

अस्ति मात्र हो
संगत त मैले घाँसको पनि गरें
सुकेको घाँस
अरूले खाईसकेर
मुखबाट झरेको घाँस
आफूलाई नेपाली-अमेरिकी ठान्ने
साँढेले छोडेको घाँस
नेपाली-अरबी घोडाले
जुठो हालेको घाँस
भारती-माउथेले
पराल बनाएको घाँस
गोपाल-कृष्णले
बृन्दाबनमा
गोबर लगाएर
गोठमा छोडेको घाँस
उबरे र लिमेले
सोत्तर बनाएको घाँस
यस्तो घाँस
नचिन्नु पनि रमाईलै हुँदो रहेछ
सबैले छोडेको घाँसमा
मैले
मिनरल वाटर हालेर हरियो बनाउँन खोजें
तर
सुकेको घाँस
पराल
सोत्तरलाई
मिनरल वाटर हालेपछि
अलि अलि हरियो के भएथ्यो
फर्केर
उहि नेपाली-अमेरिकी
साँढेसँग वार्ता गर्न लाग्यो
नेपाली-अरबी
घोडाकैमा धाउने भयो
भारती-माउथेसँगै
रिकनेक्ट हुन थाल्यो
गोपाल-कृष्णले
बृन्दाबनमा
बोलाउनसाथ
१६ सयमा एक थपिन
मध्यरातमै जान लाग्यो
नेपाली-कतारी
उबरे र लिमेतिरै लाग्यो
संगत गुनाको फल
टाउकोमा हात राखेर
आज अन्तिम पटक भन्दैछु
संगत मैले
गर्नु हुनेको पनि गरें
गर्न नमिल्नेको पनि गरें
अलि अलि मात्र
गरे हुनेको पनि अलि बढि नै गरें
बिल्कुल गर्ने नमिल्नेको पनि गरें
यी सब बाध्यताले गरें
वा
रहरले गरें
सुकेको घाँसमा
मिनरल वाटर हालेर
मैले गर्नै नहुने गल्ति गरें।

-दोहा