इलाम-२ मा नेम्वाङलाई खड्काकाे कडा चुनौती !

इलाम-२ मा नेम्वाङलाई खड्काकाे कडा चुनौती !


ग्लोब नेपाल
1.8k
Shares

इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्यमा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । उनी पाँचौ पटक आगामी निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् ।

नेम्वाङले विसं २०५६ देखि लगातार चुनाव जित्दै आएकामा गत निर्वाचनमा वाम गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका उम्मेदवार केशव थापालाई करिब साढे नौ हजार मतान्तरले पराजित गरेका थिए ।

गत स्थानीय तहको निर्वाचनमा इलाम क्षेत्र नं २ मा वडाध्यक्षको मत एमालेकोभन्दा कांग्रेसको बढी देखिन्छ । त्यसमा सरकारमा रहेका गठबन्धन दलको मतसमेत थपिन सक्छ । उक्त चुनावमा वडाध्यक्षले पाएको मत ३२ हजार नौ सय ७८ कांग्रेस पक्षको हुँदा एमालेसँग ३२ हजार पाँच सय २७ छ । नेकपा माओवादी केन्द्रको दुई हजार सात सय १७, जसपाको पाँच सय ५४, एकीकृत समाजवादीको दुई सय ७७ र राप्रपाको एक सय ३० मत छ ।

नेम्वाङसँग सत्तारुढ गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का प्रतिस्पर्धी छन् । नेम्वाङको राष्ट्रिय राजनीतिमा आफ्नै पहिचान छ भने खड्का गरिब र विपन्नलाई आर्थिक सहयोग गर्दै आएका समाजसेवीका रुपमा परिचित छन् । खड्का प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पहिलो पटक चुनाव लड्दै छन् ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा प्रारम्भ गरेका खड्का नेविसङ्घको केन्द्रीय उपाध्यक्ष, जिल्ला कोषाध्यक्ष हुँदै जिल्ला सभापति बनेका हुन् । यसअघि २०७४ को चुनावमा इलाम क्षेत्र नं २ कै १ बाट प्रदेश सभामा प्रतिस्पर्धी बनेका उनी मुख्य प्रतिस्पर्धीसिँग पराजित भएका थिए । एमालेका राम रानासँग पराजित खड्काले यसपटक प्रतिनिधि सभामा विजय हासिल गर्ने जिकिर गर्दै आएका छन् । यो क्षेत्रको प्रदेश सभा १ मा नेपाली कांग्रेसबाट र २ मा माओवादी केन्द्रबाट उम्मेदवार उठाइएको छ।

कानुन व्यवसायी, मन्त्री, सभामुख र संविधानसभा अध्यक्ष भइसकेका नेम्वाङ गत २०७४ को निर्वाचनमा ३६ हजार पाँच सय १७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार केशव थापाले २६ हजार आठ सय ६५ मत प्राप्त गरेका थिए । उनले विद्युत्, सडक, स्वास्थ्य, शिक्षालगायतका कुरा जोडेर नै मत माग्नु परिरहेको छ ।

नेम्वाङको निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको १० नम्बर वडाबाहेक देउमाई नगरपालिका, माई नगरपालिकाको वडा नं ६, ७ र ८ सहित चुलाचुली, माङ्सेबुङ र फाकफोथुम गाउँपालिका पर्दछ । यसै निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वा (केपी) ले समेत यसै निर्वाचन मनोनयन दर्ता गराएका छन् । सोही निर्वाचन क्षेत्रमा रहेको माङ्सेबुङ गाउँपालिकामा किराँत धर्म गुरुको बसोबास छ । मुख्यगरी यस निर्वाचन क्षेत्रमा नेम्वाङलाई कांग्रेसका खड्का चुनौती बनेका छन् ।

इलाम क्षेत्र नं २ मा एक लाख १५ हजार पाँच सय ३५ मतदाता छन् । जसमा ५८ हजार, सात सय ८४ महिला, ५६ हजार पाँच सय ५६ पुरुष र अन्य दुई छन् । निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ दुई स्वतन्त्रसहित १४ उम्मेदवार प्रतिस्पर्धी छन् । प्रदेशसभातर्फ क्षेत्र नं २ को (१) मा आठ र इलाम (२) मा १ स्वतन्त्रसहित आठ उम्मेदवार छन् ।