कांग्रेसका ५ महिला उम्मेदवार : डिनाबाहेक अरु रेड जोनमा

कांग्रेसका ५ महिला उम्मेदवार : डिनाबाहेक अरु रेड जोनमा



काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसले उठाएका ५ महिला उम्मेदवारमध्ये एकजना बाहेक अरु रेड जोनमा देखिएका छन् । कांग्रेसले ९१ उम्मेदवारमध्ये ५ जना महिलालाई उम्मेदवार बनाएको छ । चुनाव प्रचारको अन्त्यतिर आइपुग्दा ती पाँचैजना उम्मेदवारमध्य मकवानपुर–१ बाट उम्मेदवार बनेकी महालक्ष्मी उपाध्याय (डिना) बाहेक अन्य उम्मेदवार रेड जोनमा देखिएका छन् ।

कांग्रेसले तेह्रथुमबाट सीता गुरुङ, मोरङ–२ बाट सुजाता कोइराला, सिराहा–२ बाट चित्रलेखा यादव, मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय (डिना) र अर्घाखाँचीबाट पुष्पा भुसाल गौतमलाई उम्मेदवार बनाएको छ । यी पाँचवटै निर्वाचन क्षेत्रका कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारले जित्नका लागि ठूलै मेहनत गर्नुपर्ने देखिन्छ । यदि कांग्रेसबाट उम्मेदवार भएका पाँचै महिला परजित भए समानुपातिक निर्वाचनसमेत प्रभावित हुने देखिएको छ ।

सीता गुरुङ

१. सीता गुरुङ
तेह्रथुमबाट दोस्रो पटक उम्मेदवार बनेकी हुन्– सीता गुरुङ । अघिल्लो निर्वाचनमा उनी तत्कालीन वाम गठबन्धनका उम्मेदवार भवानीप्रसाद खापुङभन्दा २ हजार २१ मत कम प्राप्त गरी पराजित भएकी थिइन् । अहिले एमालेका विजय सुब्बासँग उनले प्रतिस्पर्धा गर्नुपरेको छ । उक्त क्षेत्रमा जसपाका नारायण गुरुङ, राप्रपाका गौरीप्रसाद कन्दङवा र स्वतन्त्र उम्मेदवार सुशन चोङवाङ लिम्बू उम्मेदवार छन् ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा ७१ हजार ९ सय ३३ मतदाता छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन् । ४३ वटा वडा रहेको तेह्रथुममा स्थानीय तहको निर्वाचनलाई विश्लेषण गर्ने हो भने एमाले नै अगाडि छ । एमालेले २२ वटा वडा जित्दा कांग्रेसले २० वटा जितेको छ । एउटा वटामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले २२ हजार ३ सय १२, कांग्रेसले २१ हजार ९ सय ११, माओवादीले ६ सय ८६ र नेकपा (एस) ले ५ सय ४६ मत प्राप्त गरेको छ ।

कांग्रेसका लागि यो निर्वाचन क्षेत्रमा तुलसी सुब्बा महत्वपूर्ण फ्याक्टर हुन् । उनलाई समेट्न सकिएन भने कांग्रेसले करारी हार व्यवहोर्न सक्छ । प्रदेशसभामा असन्तुष्ट र गठबन्धनलाई समेट्ने प्रयास गरेको देखिन्छ । प्रदेश (क) बाट कांग्रेसका सन्तोष सुब्बा र प्रदेश (ख) बाट माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईंलाई उम्मेदवार बनाएको छ ।

सुजता कोइराला

२. सुजता कोइराला
सुजता कोइराला मोरङ–२ बाट उम्मेदवार बनेकी छन् । यसअघिको निर्वाचनमा कांग्रेसकै डा. मीनेन्द्र रिजाल एमाले उम्मेदवार ऋषिकेश पोखरेलभन्दा १ हजार ८ सय ५ बढी मत प्राप्त गरेर विजयी भएका थिए ।

पाँचवटा पालिका समेटिएको यो निर्वाचन क्षेत्रमा २९ वटा वडा छन् । स्थानीय निर्वाचनको मत विश्लेषण गर्ने हो भने एमाले अगाडि देखिएको छ । एमालेले १६ वटा वडा जितेको छ भने कांग्रेसको भागमा ११ वटा छ । यस्तै माओवादीले २ वटा वडामा जितेको छ । एमालेले ३१ हजार ३ सय ३०, कांग्रेसले २८ हजार ६ सय १७, माओवादीले ७ हजार २ सय ७१, राप्रपाले २ हजार ६९ मत प्राप्त गरेको छ ।

गठबन्धनको मत जोड्दा कांग्रेसलाई फाइदा पुग्ने देखिन्छ । यद्यपि कांग्रेसबाटै असन्तुष्ट बनेका डा. मीनेन्द्र रिजाललाई समेट्न सकिएन भने सुजातालाई जित्न कठिन हुने देखिन्छ । केही मत जनता समाजवादी पार्टी र राप्रपाको पनि भएकाले जितका लागि त्यो महत्वपूर्ण फ्याक्टर हुने बताइएको छ ।

चित्रलेखा यादव

३. चित्रलेखा यादव
सिराहा क्षेत्र नं. २ बाट गठबन्धनबाट उम्मेदवार बनेकी चित्रलेखा यादवको निर्वाचन क्षेत्रमा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उक्त निर्वाचन क्षेत्रमा एमालेले जसपाका उम्मेदवार राजकिशोर यादवलाई समर्थन गरेको हुनाले कांग्रेसलाई जित्न त्यत्ति सजिलो नहुने बताइएको छ ।

अघिल्लो निर्वाचनमा माओवादीका उम्मेदवार सुरेशचन्द्र दासले समाजवादी फोरमका शघुधनप्रसाद यादवलाई पराजित झन्डै ३ हजार मतान्तरले पराजित गरेका थिए । त्यसबेला कांग्रेसका उम्मेदवार रामचन्द्र यादव तेस्रो भएका थिए ।

आठवटा पालिका समेटिएको उक्त निर्वाचन क्षेत्रमा ४१ वटा वडा छन् । यी ४१ वडामध्ये १३ मा कांग्रेस विजयी भएको छ भने एमाले ९ र जसपा १०, माओवादी ६ र समाजवादी २ वटा वडामा विजयी भएको छ । एउटा वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

स्थानीय तहमा प्राप्त मतलाई विश्लेषण गर्ने हो भने जसपा सबैभन्दा अगाडि देखिएको छ । उसले २१ हजार ९७, कांग्रेसले १९ हजार ४ सय ७४, एमाले १८ हजार ३ सय ५८, माओवादी ११ हजार ६ सय ५८, जनमत पार्टीले ५ हजार १सय १, नेकपा (एस) ले ३ हजार ९ सय २३, लोसपाले ९ सय ७९ मत प्राप्त गरेको छ ।

यो निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा (एस) र लोसपाको गठबन्धन छ भने जसपा र एमालेबीच चुनावी गठबन्धन बनेको छ । जसपा र एमालेको एक हुँदा कांग्रेस नेतृत्वको गठबन्धन कमजोर देखिन्छ । यद्यपि जसपाभित्र देखिएको अन्तरद्वन्द्वले कांग्रेसलाई फाइदा पुग्ने देखिन्छ ।

महालक्ष्मी उपाध्याय (डिना)

४. महालक्ष्मी उपाध्याय (डिना)
उम्मेदवारलाई सबैभन्दा पेचिलो बनेको मकवानपुर–१ मा कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले राप्रपाका पूर्वअध्यक्ष कमल थापा एमालेको सूर्य चिन्ह लिएर चुनावी मैदानमा छन् । दुई स्वतन्त्रसहित १६ जना चुनावी मैदानमा रहेकाले को निर्वाचित हुन्छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिने स्थिति छैन ।

हेटौडा उपमहानगरपालिकासहित चारवटा पालिका समेटिएको यो निर्वाचन क्षेत्रमा ४० वटा वडा छन् । यो निर्वाचन क्षेत्रमा पनि एमालेले नै अघि देखिएको छ । ४० वडामध्ये एमालेले १५, कांग्रेसले १४, माओवादीले १० र नेकपा (एस) ले एउटा वडा जितेको छ । स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई विश्लेषण गर्ने हो भने एमालेले ३८ हजार ५६, कांग्रेसले ३४ हजार ७२, माओवादी १६ हजार ५ सय ४२, राप्रपाले ४ हजार ७० र नेकपा (एस) ले ३ हजार २ सय ८३ मत प्राप्त गरेका छन् ।

माओवादी र नेकपा (एस) को सहयोगमा कांग्रेसलाई चुनाव जित्न धेरै सजिलो देखिन्छ । एमालेको सबै मत कमल थापाले प्राप्त गर्न नसक्ने मात्र होइन, राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह आफै सशक्त रहनु डिनाको प्लस प्वइन्ट हो ।

पुष्पा भुसाल

५. पुष्पा भुसाल (गौतम)
माओवादीबाट एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी प्रतिस्पर्धी पाएकी गठबन्धनकी उम्मेदवार पुष्पा भुसालले विजयी हुन धेरै मेहनत गर्नुपर्ने देखिन्छ । अघिल्लो निर्वाचनमा कांग्रेसका डा. रामबहादुर बिसीभन्दा झन्डै १८ हजार मतान्तरले विजयी भएका रायमाझी एमालेको बलियो उम्मेदवार हुन् । यद्यपि जनमोर्चाको बाहुल्यता रहेकाले भुषाललाई चुनाव जित्न सजिलो हुने देखिन्छ ।

एक स्वतन्त्रसहित १० जना उम्मेदवार चुनावी मैदानमा छन् । १ लाख ६४ हजार ७ सय ६८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६ वटा पालिकाको ६१ वटा वडा छन् । स्थानीय तहको निर्वाचनलाई विश्लेषण गर्ने हो भने एमाले धेरै अगाडि देखिन्छ । एमालेले ३१, कांग्रेसले २३, माओवादीले ४, जनमोर्चाले ४ र नेकपा (एस) ले एउटा जितेको छ ।

वडामा प्राप्त मतलाई हेर्ने हो भने एमाले नै अगाडि छ । एमालेले ४८ हजार २ सय ६०, कांग्रेस ३७ हजार ९ सय २५ माओवादी ७ हजार ७ सय ९०, राजमोले ४ हजार २ सय ९४, नेकपा (एस) ले ३ हजार ७ सय ६३ मत प्राप्त गरेको छ । गठबन्धनको अगाडि एमाले उम्मेदवार रायमाझी कमजोर देखिन्छन् । यत्ति मात्र होइन, रायमाझीको राजनीतिमा अस्थिर भूमिका गठबन्धन उम्मेदवार भुषालको प्लस प्वइन्ट हुने देखिन्छ ।