झापा २ मा घिमिरे र राना: पहिले सहकर्मी अहिले प्रतिस्पर्धी !

झापा २ मा घिमिरे र राना: पहिले सहकर्मी अहिले प्रतिस्पर्धी !


ग्लोब नेपाल
297
Shares

झापा । झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ । प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो क्षेत्रको चुनावी माहोल तातेको हो ।

एकातर्फ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको तीन दलीय लोकतान्त्रिक बाम गठबन्धनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेको छ भने अर्कोतर्फ नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धनले चुनावी गतिविधिलाई अझ सशक्त बनाइरहेको छ ।

राजनीतिक पृष्ठभूमिका दुई वटा गठबन्धन दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार र पार्टी छाडेर बागी बनेका उम्मेदवार पनि चुनावी मैदानमा छन् । सँगै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि पहिलो पटक झापा २ मा आफ्नो उम्मेदवार खडा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि अबको पालो युवाको भन्दै जनताको मत बटुल्न घरदैलोमा छ । यी पार्टीसँगै अन्य दलका उम्मेदवार पनि आफ्नो चुनावी दौडमा व्यस्त छन् ।

विशेषतः यो क्षेत्रमा प्रत्यक्षतर्फ तीन दलीय लोकतान्त्रिक बाम गठबन्धन र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि दुवै उम्मेदवारलाई जीत निकाल्न त्यति सहज देखिँदैन । दुवै उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

अन्य दलको प्रत्यक्षमा जीत निकाल्ने अवस्था देखिँदैन । तथापि, समानुपातिक मत बटुल्न र आफ्नो उपस्थिति जनाउन चुनावी मैदानमा छन् । हाल मूलधारको राजनीतिमा रहेका दलहरूप्रति जनताको वितृष्णा बढेको भन्दै आफ्नो दल र उम्मेदवारले जनमत पाउने अन्य दलको ठहर छ ।

अर्जुनधारा नगरपालिका पूर्वनगरप्रमुख हरिकुमार राना लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार छन्, भने एमाले–राप्रपाबाट एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे उम्मेदवार रहेका छन् । राना एमाले परित्याग गरेर माओवादी केन्द्रको उम्मेदवार बनेका हुन् । एमाले त्याग्नुअघि राना र एमालेका उम्मदेवार घिमिरे सहकर्मी थिए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुद्रप्रसाद गिरी, नेमकिपाबाट महेन्द्र खायमली, स्वतन्त्रमा अधिवक्ता भद्रप्रसाद नेपाल र कांग्रेसबाट बागी कुमार भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

विकास र जनतासँग जोडिएका मौलिकतामा आधारित अवधारणासहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको उम्मेदवार राना बताउछन् । जनताको हरेक समस्यासँग आफू जानकार भएको र स्थानीयवासीको सुख दुःखमा हातेमालो गरेकाले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने रानाको दाबी छ ।

“अर्जुनधारा नगरपालिकाको नगरप्रमुखको जिम्मेवारी पूरा गरिरहँदा मैले विकास र जनतासँग जोडिएका कुरा जाने–बुझेको छु”, उनले भने, “लामो समय स्थानीय तहमा बसेकाले स्थानीय समृद्धिको आधार मैले बुझेको छु, स्थानीय आवश्यकता र समस्या मलाई थाहा छ, जनताले मलाई रोज्नुहुन्छ ।”

झापा क्षेत्र नं २ मा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले आफ्नो प्राथमिकताको विषय फोहोर व्यवस्थापन भएको उनको भनाइ छ । “प्राकृतिक स्रोतको उच्चतम प्रयोग गरेर आमनागरिकको जीवन परिवर्तन गर्ने मेरो एजेण्डा र सङ्कल्प हो”, उनले भने, “यहाँको जल, जङ्गल र जमिनलाई कसरी उपयोग गर्नुपर्छ भन्ने मलाई राम्ररी थाहा छ ।”

यता, एमाले–राप्रपाका उम्मेदवार घिमिरेले पदमा नबसे पनि लामो समयदेखि पार्टीमा आबद्ध भएर झापा २ का विकास निर्माण, सुशासनलगायतका क्षेत्रमा काम गर्दै आएको बताए । “समृद्ध मुलुक बनाउन नीति निर्माणका पक्षमा काम गर्न प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएको हुँ”,उनले भने, “अव्यवस्थित कुरालाई व्यवस्थित बनाउने कुरामा आवश्यक नीति निर्माणका लागि नै मेरो उम्मेदवारी हो ।” केन्द्रीय घोषणापत्र र स्थानीय आवश्यकताका आधारमा आफूले काम गर्ने उनको भनाइ छ ।

कांग्रेसबाट बागी उम्मेदवार बनेका भट्टराई जनताले पार्टीभन्दा पनि व्यक्ति हेर्न थालेको बताए । “यहाँ दलका कुराभन्दा पनि व्यक्तिको कुरा महत्वपूर्ण बन्दै गएको छ”, उनले भने, “मैले सबैको सुख, दुःखमा भूमिका खेलेको छु, मतदाताले मत दिएर जिताउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।”

पद र शक्तिको दुरुपयोग नगर्ने, भ्रष्टाचार नगर्ने, स्वास्थ्य, शिक्षा, रोजगारलगायतका क्षेत्रलाई समेटेर १६ बुँदे प्रतिबद्धतासमेत उम्मेदवार भट्टराईले जनाए ।

झापा २ मा अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १, २ र ३, बिर्तामोड नगरपालिकाको १ देखि ९ नम्बर वडा र कनकाई नगरपालिकाको ७ र ८ नम्बर गरी २५ वटा वडा छन् ।

यो क्षेत्रमा ६६ हजार ६५७ पुरुष, ६७ हजार ४२९ महिला र पाँच जना अन्य गरी एक लाख ३४ हजार ९१ जना मतदाता रहेका छन् । ४९ मतदान स्थल र १२५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा २५ वटा वडामध्ये १३ वटा वडा एमाले, ११ वटा वडा कांग्रेस र एउटा वडामा राप्रपाले जितेको छ । यो क्षेत्रमा कांग्रेस, माओवादी र समाजवादी वडाध्यक्षका उम्मेदवारले ३५ हजार ७८३ मत पाएका थिए भने एमालेका वडाध्यक्षका उम्मेदवारले ३६ हजार १५८ मत पाएका थिए । राप्रपाका वडाध्यक्ष उम्मेदवारले आठ हजार ३८ मत प्राप्त गरेका थिए ।

विसं २०७४ मा झापा २ प्रतिनिधि सभा निर्वाचनमा बामगठबन्धनले जितेको थियो । बामगठबन्धनका तर्फबाट एमालेकी पवित्रा निरौला खरेलले ४५ हजार ८१७ मत पाएकी थिइन्, भने कांग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गरेका थिए ।