१ लाख ४८ हजार अस्थायी मतदाता, १ सय ४१ अस्थायी मतदान केन्द्र

१ लाख ४८ हजार अस्थायी मतदाता, १ सय ४१ अस्थायी मतदान केन्द्र


ग्लोब नेपाल
216
Shares

काठमाडौं । निर्वाचन आयोगले १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ। मंसिर ४ मा हुने आम चुनावमा उनीहरूले प्रतिनिधिसभाको समानुपातिकमा मात्रै मतदान गर्न पाउने छन्।

अस्थायी मतदान केन्द्रका मतदाता सूचीमा १ लाख ४८ हजार अस्थायी मतदाता सूचीकृत भएका छन्। संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, तीनै तहको सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा, कैदी र वृद्धाश्रममा रहेकालाई लक्षित गरेर अस्थायी मतदान स्थल राख्न लागिएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बताए।

देशभर २५ हजार ९ सय ६ कैदी र बन्दी भए पनि मतदाता सूचीमा सूचीकृत नभएकै कारण मतदाता न्यून छन्। केन्द्रीय कारागार सुन्धारामा ३ हजार ४ सय कैदी रहेकामा मतदाता २० जना मात्रै रहेको कारागार विभागले जनाएको छ। त्यस्तै पर्सामा १ हजार ४ सय कैदीमध्ये ३७, डिल्लीबजारमा ६ सयमध्ये कर्मचारीसहित १ सय २३ जना मात्रै मतदाता छन्। त्यस्तै नख्खुमा १ हजार ४ सय कैदीबन्दीमध्ये मतदाता ५० जना मात्रै छन्।

मकवानपुरस्थित क्षेत्रीय कारागार भीमफेदीका करिब एक हजार कैदीबन्दीमध्ये २८ जनाले मात्रै प्रतिनिधिसभाको समानुपातिकतर्फ मत दिन पाउनेछन्। कास्की जिल्ला कारागारका ७ कैदीबन्दी मतदानमा सहभागी हुनेछन् । यहाँ ८ सय ४५ कैदीबन्दी छन् । ७ सय ८० भन्दा बढी कैदीबन्दी रहेको बाँके कारागारमा रहेका दुई जनाले मात्रै मतदान गर्न पाउनेछन्।

यस्तै, सुनसरीको झुम्का कारागारका झन्डै १ हजार ८ सय कैदीबन्दीमध्ये ४१ जना र अछाम जिल्ला कारागार मंगलसेनमा रहेका ८६ मध्ये ७ जना कैदीबन्दीले मात्र मताधिकार प्रयोग गर्न पाउनेछन्। आयोगले अस्थायी मतदाता यकिन गरे पनि कैदीबन्दी, सुरक्षाकर्मी, कर्मचारी र वृद्धाश्रममा रहेका वृद्धवृद्धा कति छन् छुट्याएर सार्वजनिक गरेको छैन।