काभ्रे-२ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा

काभ्रे-२ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा


ग्लोब नेपाल
432
Shares

काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नकिजिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ ।

यस निर्वाचन क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाईँ र नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटाबीच हुने अनुमान गरिएको छ । दुबै प्रतिस्पर्धी आ–आफ्नै शैलीमा प्रचार–प्रसारमा होमिएका छन् । दुवै पक्षले मतदाता आकर्षित गर्नका लागि मतदाताका घरदैलोमै पुगेर भेटघाट गर्न थालेका छन् ।

बाँस्कोटा एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट मानिन्छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत भएका बाँस्कोटाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ ।

उनका प्रतिस्पर्धी काङ्ग्रेसका शिवप्रसाद हुमागाई २०५६ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए, भने संविधान सभा निर्वाचन २०६४ र २०७० मा पराजित भएका थिए । साथै, अघिल्लो निर्वाचनमा विश्राम लिएका थिए ।

हुमागाईँ र बाँस्कोटालाई दुबै जिल्लामा ‘हेभिवेट’ उम्मेदवारका रूपमा लिइएको छ । हुमागाईँ र बाँस्कोटाले जिल्लामा पार्टीको नेतृत्व गरेको र केन्द्र र जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ ।

२०३६ मा भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका गठबन्धनका उम्मेदवार हुमागाईँ पार्टीका विभिन्न भातृ सङ्गठन हुँदै चारपटक पार्टीको जिल्ला नेतृत्व एवं एकपटक केन्द्रीय सदस्यको नेतृत्व गरेका थिए ।

विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गरेका बाँस्कोटा पार्टीका विभिन्न भातृ सङ्गठन तथा पार्टीको विभिन्न तह हुँदै पार्टीको जिल्ला नेतृत्व गर्दै हाल पार्टीको पोलिटब्यूरो सदस्य हुन् । २०७० को संविधान सभा सदस्यमा काङ्ग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादे श्रेष्ठसँग पराजित बाँस्कोटा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ मा काङ्ग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गरी मन्त्रीसमेत भएका हुन् ।

अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी भएका बाँस्कोटाको बिरासत तोड्न गठबन्धन दल चुनावी रणनीति बनाएर अघि बढेको छ । हुमागाईलाई बाँस्कोटाकै गृहनगर मण्डनदेउपरका गठबन्धन दलअन्तर्गत नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य कृष्णप्रसाद सापकोटा, पूर्वसांसद विदुरप्रसाद सापकोटासमेतको साथ छ ।

काभ्रेपलाञ्चोक जिल्लामा छ पदका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् ।

जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कुल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने छन् । एक सय ९० वटा मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।