किन्ने र बेच्ने गायब, ५ हजार केजी रुद्राक्ष राजस्व विभागमा

किन्ने र बेच्ने गायब, ५ हजार केजी रुद्राक्ष राजस्व विभागमा

चलखेल हुनसक्ने आशंका


ग्लोब नेपाल
621
Shares

इटहरी । शंकास्पद रूपमा नेपालबाट चाइनातर्फ लैजाँदै गरेको ५ हजार केजी रुद्राक्ष राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर केन्द्रीय कार्यालय काठमाडौं पठाएको छ ।

बिहीबार आन्तरिक राजस्व कार्यालय धरानले क्रेता र बिक्रेता स्पष्ट नभएको र शंकास्पद रूपमा ढुवानी गरिएको पाइएपछि धरानबाट दुईवटा पिकअपलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको थियो । तर, आइतबार राजस्व अनुसन्धान कार्यालयले इटहरीमा अनुसन्धान नै नगरी उक्त सामानसहित राजस्व अनुसन्धान विभाग केन्द्रीय कार्यालय काठमाडौंमा पठाएको छ ।

बागमती प्रदेश ०१–०२६ च ५६०२ र प्रदेश १–०२–००२ च ४४३९ नम्बरको पिकअप गाडी आन्तरिक राजस्व कार्यालय धरानले नियन्त्रणमा लिएर अनुसन्धानका लागि इटहरीमा बुझाएको थियो । उक्त पिकअपमा एउटामा दुई हजार पाँच सय केजीका दरले पाँच हजार केजी रहेको बताइएको छ ।

चलखेल हुनसक्ने आशंका

क्रेता र बिक्रेता स्पष्ट नभएको र मोक्ष रुद्राक्ष भण्डारले आफ्नै नाममा बिल काटेको भन्दै राजस्व कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । संखुवासभाबाट आएको उक्त पिकअपमा रुद्राक्षका क्रेता र बिक्रेता तत्काल नछुट्टिएको र ‘क्लियरिङ’ मार्फत कार्यालयले नियन्त्रणमा लिएको थियो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीमै अनुसन्धान हुने विषय भए पनि आइतबार नै राजस्व अनुसन्धानले काठमाडौं पठाएको हो । काठमाडौं पठाएपछि ‘चलखेल हुनसक्ने’ आशंका भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार इटहरीमै अनुसन्धान गरेर जाँचबुझ हुने विषयलाई बिचौलियाले ‘चलखेल गर्नसक्ने’ बुझिएको छ ।

‘क्रेता र बिक्रेता नखुलेको भन्ने सूचनादाताले दिएको सूचना हो, आन्तरिक राजस्व कार्यालय धरानका एक कर्मचारीले भने, ‘यसको कारोबार विदेशी नागरिकसँग जोडिएको छ भन्ने कुरा आएको छ, जाँचबुझकै क्रममा रहेको हुनाले यसै भन्ने अवस्था छैन ।’

यता, राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझाले भने शनिबार आफूहरूकहाँ पिकअपसहित रुद्राक्ष ल्याइएको र यहाँबाट अनुसन्धानका लागि काठमाडौं पठाइएको बताए । ‘नेपाली किसानको उत्पादनसँग जोडिने भएको र विदेशी मुद्रा नेपाल भित्रिने भएकाले हामीले अनुसन्धान गर्ने भन्दा पनि केन्द्रीय कार्यालयमार्फत नै अनुसन्धानका लागि पठाएका हौं’ उनले भने, ‘चाइना जाने माल तलबाट जाँदैन, फ्लाइटबाटै जान्छ, बेच्न र खरिद गर्न पाइन्छ, तर यहाँ बीचको मान्छे मात्रै भेटिएको र क्रेता र बिक्रेता तत्काल नखुलेको कुरा आएको छ ।’

उनले रुद्राक्षको सन्दर्भ मूल्य नतोकिएकाले कति मूल्यको भनेर यकिन नभए पनि रुद्राक्ष नेपालबाट चाइना लैजाँदा एक केजी बराबर एक रुपैयाँ राजस्व बुझाउनुपर्ने बताए । ‘भारतबाट नेपालतिर छिरेको भए गम्भीर कुरा हुन्थ्यो, तर नेपालबाट बाहिर जाने सामानले विदेशी मुद्रा भित्रिने कुरा हो,’ ओझाले भने, ‘मोक्ष रुद्राक्ष भण्डार नामक कम्पनीबाट आफ्नै नाममा बिलिङ भएकाले समस्या भएको हो, त्यसैले हामीले अनुसन्धानका लागि केन्द्रीय कार्यालयमै पठाएका छौं ।’

नेपालमा रुद्राक्षको सन्र्दभ मूल्य नतोकिए पनि चाइनिज मूल्य भने एक केजी बराबर १५ देखि २० हजार रुपैयाँसम्म रहेको स्रोतले जनाएको छ ।