ओखलढुंगामा गठबन्धनको जीत सहजः सभापति खनाल

ओखलढुंगामा गठबन्धनको जीत सहजः सभापति खनाल



नेपाली कांग्रेसको उर्बर भूमि ओखलढुंगा र कांग्रेस पर्याय हुन् । झन्डै पाँच दर्जन सहिदको रगतले सिञ्चिएको ओखलढुंगा कांग्रेस यतिबेला एकढिक्का भएर निर्वाचनमा होमिएको छ । कांग्रेस नेतृत्वको गठबन्धनको जीत निकाल्न जिल्लाले युद्धस्तरमा तयारी गरिरहेको ओखलढुंगा कांग्रेस सभापति तेजन खनाल (तेजेन्द्र) ले जानकारी दिएका छन् । समग्र ओखलढुंगाको निर्वाचन माहोल र गठबन्धनको अवस्थाका विषयमा ग्लोब नेपालका सम्पादक भानु दाहालले सभापति खनालसँग गरेको कुराकानी–

० जिल्लामा राजनीतिक माहोल कस्तो पाउनु भएको छ ?
– जिल्लामा चुनावको सरगर्मी बढेको छ । त्यसमा पनि माहोल हेर्दाखेरी गठबन्धनका उम्मेदवारहरु विजयको नजिक पुगेको देखिन्छ । समग्रमा आम मतदाताको भावना, विचार चहलपहल हेर्दा हाम्रो जीत सुश्चितजस्तै देखिन्छ ।

० जिल्लाका आम मतदाताबाट कस्तो खालको प्रतिक्रिया (रेस्पोन्स) पाइरहनु भएको छ ?
– २०७४ सालको निर्वाचनमा नेकपा एमालेको नेतृत्वमा गठबन्धन थियो । त्यो गठबन्धन असफल भयो । केपी ओलीले राम्रोसँग चलाउन सकेनन् । संसद नै विघटनको दुस्कर्म समेत गरे । त्यस कारणले अहिले जनताले राम्रोसँग कुरा बुझेको देखिन्छ । विगतका निर्वाचनमा नेकपा एमालेकै उम्मेदवारहरु विजयी भएको ठाउँ हो यो । यो पाँच वर्षमा एमालेले गरेका काम जनताले मन पराएका छैनन् । अहिले जनताले परिवर्तन खोजेका छन् । त्यसकारण पनि कांग्रेस र गठबन्धनप्रति जनताको निकै ठुलो आशा र उत्साह देखिएको छ । जिल्लाका स्थानीय तहहरुमा मत पनि कांग्रेस र नेकपा माओवादीको बर्चस्व रहेको छ । संघ र प्रदेशमा गठबन्धनकै उम्मेदवारहरु विजयी हुँदा काम गर्न पनि सजिलो हुने कुरा जनताले राम्रोसँग बुझेका छन् । यहाँका मतदाता गठबन्धनलाई जिताउनका लागि निकै आतुर भएको देखिन्छ ।

० पहिले कांग्रेसले हारेको अहिले कांग्रेसले जित्छ भन्नु हुन्छ, के–के आधारहरु छन्, जित्नका लागि ?
– आधारहरु धेरै छन् । एउटा कुरा त, अघिल्लो निर्वाचनमा माओवादी एमालेसँग मिलेको थियो । अहिले माओवादी हामी (कांग्रेस)सँग आएको छ । त्यसमा अलि सानो जनमत भए पनि एमालेबाट विद्रोह गरेको नेकपा एकीकृत समाजवादी पनि हामीसँगै छ । यि मतहरु हामीसँग थपिँदा हामी सहज जीत निकाल्नेमा ढुक्क छौँ । अझ, खासमा यो पाँच वर्षे कार्यकालमा एमालेले गरेका हरेक क्रियाकलापको जनताले मुल्याङ्कन गरिरहेका छन् । ओखलढुङ्गामा यो पाँच वर्षमा हुनुपर्ने विकास र समृद्धि केही पनि भएको छैन । त्यसकारण यसपटक यहाँका जनता परिवर्तनको पक्षमा छन् । हामीले पनि एमाले सरकारले गरेका विकृतिविरुद्ध भण्डाफोर गरिरहेका छौँ ।

० यो त विपक्षी दलले काम गर्न नसकेको कुरा भयो, खास तपाईहरुका एजेण्डा चाँही के–के छन् ?
– हाम्रा खास एजेण्डा भनेका सबै स्थानीय तहका समस्याहरु र विकास निमार्णका कुराहरुलाई नै प्राथमिकताका साथ उठाएका छौँ । अझै यहाँका जनताका आवश्यकताहरु हेरेर गठबन्धनका दलहरुले ओखलढुङ्गाको विकास र समृद्धिमा योगदान पु-याउने कुराहरुलाई नै विशेष गरी जोड दिइरहेका छन् । विकास र समृद्धिका कुराहरु बारे जनतालाई विश्वास दिलाउने काम गरिरहेका छौँ । केहि हाम्रा प्रतिबद्धतापत्र पनि छन्, ती सबै यहाँ भन्न सकिने कुरा पनि भएन । त्यो प्रतिवद्धतापत्रका आधारमा गठबन्धनका दलहरुले केहि गर्न सक्छन् है भन्ने विश्वास आम जनतामा रहेको छ ।

० कांग्रेसभित्रको आन्तरिक द्वन्द्व कसरी व्यवस्थापन भएको छ ?
– मलाई लाग्छ, धेरै निर्वाचन क्षेत्रमा कांग्रेसबाट धेरै दावी, बागी जस्ता कार्य नेताहरुबाट भएका छैनन् । त्यो एउटा राम्रो पक्ष हो । ओखलढुङ्गाको सन्दर्भमा भन्दा यहाँ पनि त्यस्तो खालको मतभेद, बागी उम्मेदवारी लगायतका आन्तरिक द्वन्द्व केहि पनि छैन् । कांग्रेसका साथीहरु सबै एकताबद्ध भएर चुनाव प्रचारप्रसारमा लागेको देखिन्छ । अहिले माओवादी पनि हामीसँगै छ, अरु दलहरु पनि गठबन्धनमा थपिएका छन् । हामीलाई जिल्लामा थप सहज भएको छ ।

० जिल्लामा गठबन्धनका दलहरुबीच मतहरु आदानप्रदान(ट्रान्सफर) होला जस्तो लाग्छ ?
– त्यो त अब गठबन्धन भइसकेपछि भोट आदानप्रदान (ट्रान्सफर) गर्ने नै हो । अब ओखलढुङ्गा जिल्लामा संघ (प्रतिनिधि सभा) र प्रदेश सभा एकमा कांग्रेसका उम्मेदवार छन्, भने प्रदेश सभा क्षेत्र नम्बर दुईमा नेकपा माओवादीका उम्मेदवार छन् । राम्रोसँग तालमेल गरेर दुबै पार्टीका नेता कार्यकर्ताहरु चुनावी मोर्चामा खटिरहेका छन् । हामीलाई भोट आदानप्रदानमा समस्या होला जस्तो मलाई लाग्दैन ।

० तपाई जिल्ला सभापति हो, ओखलढुङ्गामा कांग्रेसले जितेन भने तपाईको आगामी भुमिका के हुन्छ ?
– अब, त्यो त यस्तो हो, हामी पार्टी र गठबन्धनलाई जिताउनै पर्छ भन्ने उद्देश्य राखेर लागेका छौँ । अब जिताउने पार्टीको सभापतिको मात्रै दायित्व होइन । आ–आफ्ना पार्टीका सभापति, नेता कार्यकर्तालाई समेटेर समन्वय गरेर नेतृत्व गर्ने हो । अहिले कांग्रेस र गठबन्धनका नेता तथा कार्यकर्ता साथीहरु लागिपरेको अवस्था छ । म अहिले कांग्रेसले जित्दैन भनेर सोच्न पनि सक्दिनँ । कुनै आश्चर्यजनक अवस्था भए मात्रै, नभए हामी जित्नेमा ढुक्क छौँ ।

० प्रदेश सभाका कांग्रेस उम्मेदवारविरुद्ध वक्तव्य बाजीहरु भइरहेका छन्, किन नि ?
– अन्य कुनै एजेण्डा नपाएपछि विपक्षीहरुले भ्रामक कुराहरु गरेर हाम्रा उम्मेदवारहरु माथी लान्छना लगाउने काम गरेका हुन् । मिथ्या आरोप लगाउने काम विपक्षीहरुले गरेका छन् । त्यो उनीहरुको हारको मनस्थिती हो । अरु केहि पनि होइन, ओखलढुङ्गाका आम जनताले राम्रोसँग बुझेका छन् । हाम्रो जित कसैले पनि रोक्न सक्दैन । यो पटक ओखलढुङ्गामा गठबन्धनले सहज तरिकाले जित निकाल्छ ।

० अन्तिममा, ओखलढुङ्गाका आम मतदातालाई के भन्न चाहनु हुन्छ ?
– आम मतदाताहरुलाई आसन्न मंसिर ४ गते हुने निर्वाचनमा यसपालि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई मतदान गर्न म सम्पूर्ण ओखलढुङ्गाका मतदाताहरुलाई हार्दिक अपील गर्दछु । अहिले तपाईहरुले गरेको मतदानले पाँच वर्षभित्र समृद्ध ओखलढुङ्गा बनाउन सहयोग पुग्ने छ । साथै तपाईहरुको एक–एक मतको कदर गर्दै हाम्रा उम्मेदवारहरु ओखलढुङ्गाको विकासका लागि सधै खटिरहने छन् ।