गृह मन्त्रालयको चेतावनी: चुनाव बहिष्कार गर्ने समूहलाई कडा कारबाही हुन्छ

गृह मन्त्रालयको चेतावनी: चुनाव बहिष्कार गर्ने समूहलाई कडा कारबाही हुन्छ

९०३ सैनिक बम डिस्पोजल टोली तयारी अवस्थामा


ग्लोब नेपाल
297
Shares

काठमाडौं । गृह मन्त्रालयले आईतबार (मंसिर ४) गते हुने प्रतिनिधि सभा तथा र प्रदेश सभा सदस्य निर्वाचनमा बिथोल्ने गतिविधि सह्य नहुने कडा चेतावनी दिएको छ।

शुक्रबार निर्वाचन पूर्वतयारीका सन्दर्भमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा गृह सचिव विनोद प्रकाश सिंहले बहिष्कारका नाममा हिंसात्मक गतिविधि देखिन थालेको भन्दै कारबाहीको चेतावनी दिएका हुन्।

उनले भने, ‘कतिपयलाई अहिले हामीले नियन्त्रणमा लिएका छौँ। कुनै पनि किसिमले मतदानलाई असर गर्ने कर्मचारी, मतदाता, उम्मेदवार र मतदान सामग्रीको सुरक्षा क्षति हुने र खतरा हुने कुरालाई सह्य हुँदैन। त्यसलाई हामीले कडा रूपमा नियन्त्रणमा राख्छौँ।’

बहिष्कार गर्ने समूह देशभर प्रहरीको निगरानीमा रहेको समेत उनले जानकारी दिए। निर्वाचनमा भौतिक क्षति हुन नदिन सरकारले सुरक्षा निर्देशन दिइसकेको उनले बताए । उनले भने, ‘सम्भावित व्यक्ति र समूहलाई लिस्टमा राखेर उनीहरूको गतिविधिलाई सूक्ष्म रूपमा हेरिरहेका छौँ। त्यस्तालाई नियन्त्रण गर्न हामी सक्षम छौँ। तल्लो तहसम्म हामीले निर्देशन दिइसकेका छौँ।’

यस्तै, गृहले अन्य गाडी सम्भव भएसम्म सुरक्षा निकायका गाडीमा मतपेटिका ढुवानी नगर्ने जनाएको छ। ४० स्थानबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्ने सरकारको तयारी छ । नेपाली सेनाको ९०३ वटा बम डिस्पोजल टोली फिल्डमा खटिने छन्।