राज कुन्द्रासँगै अभिनेत्रीद्वय शर्लिन र पुनम तानिए

राज कुन्द्रासँगै अभिनेत्रीद्वय शर्लिन र पुनम तानिए



मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्राको अश्लिल भिडियो निर्माण प्रकरणले फेरी नयाँ मोड लिएको छ । केही समयदेखि सुस्त रहेको यो प्रकरणमा दुई जना नायिका समेत जाडिएको मुम्बई प्रहरीले जनाएको छ ।

शुक्रबार महाराष्ट्र साइबर पुलिसले यस विषयमा नयाँ आरोपपत्र दायर ग¥यो । यो प्रकरणमा प्रहरीले आरोपीको रुपमा राज कुन्द्रासँगै अभिनेत्री द्धय शर्लिन चोपडा र पुनम पाण्डेविरुद्ध आरोपपत्र दायर गरेको छ । साइबर पुलिसले आफ्नो रिपोर्टमा राज कुन्द्राले यसबाट करोडौं कमाएको बताएको छ ।

यी नायिकाहरुको सहभागितामा मुम्बईका विभिन्न पाँचतारे होटलमा अश्लील फिल्मको छायांकन गरिएको प्रहरीले रिपोर्टमा उल्लेख गरेको छ ।सुटिङपछि यसलाई ओटीटी प्लेटफर्ममा बिक्री गरिएको पनि रिपोर्टमा उल्लेख छ । यो प्रकरणबारे ४५० पृष्ठको आरोपपत्र दायर गरिएको छ । जसमा राज कुन्द्रा, शर्लिन चोपडा, पूनम पाण्डे, फिल्म निर्माता मिता झुनझुनवाला र छायाँकार राजु दुबेलाई आरोपित देखाईएको छ ।

यस आरोपपत्रमा केना प्राइम ओटीटी प्लेटफर्मका निर्देशक सुवाजित चौधरीमाथि पनि अश्लील शृंखला ‘प्रेम पागलमी’को निर्माण गरी ओटीटीमा अपलोड गरेको आरोप लगाइएको छ । यो पूरै घटनामा यसअघि राज कुन्द्राको नाम थियो । अनुसन्धान पछि प्रहरीले अदालतमा प्रस्तुत गरेको यो आरोपत्रसँगै अभिनेता पूनम पाण्डे र शर्लिन चोपडा पनि यतिबेला समस्यामा छन् । पुनम पाण्डेमाथि राज कुन्द्राको कम्पनीको सहयोगमा आफ्नै मोबाइल एप ‘द पुनम पाण्डे’को निर्माण र प्रशारण समेत गरेको आरोप छ ।

शर्लिन चोपडाले आफ्नो छायाँकार राजु दुबेलाई खिचाएको आफ्नो अश्लिल भिडियो सार्वजनिक भएको छ । शर्लिन चोपडामाथि अश्लिल भिडियोमा अभिनयसँगै फिल्मको कथा लेखन र निर्देशन गरेको आरोप छ । थप प्रमाणको लागि शर्लिनको भिडियोमा जोडिएका अरु मोडलहरुको खोजी प्रहरीले गरिरहेको छ ।

यो विषयमा बोल्दै अभिनेत्री शर्लिन चोपडाले आफुलाई राज कुन्द्राले फसाएको बताएकी छिन् । एउटा फिल्मको लागि खिचिएको भिडियोहरु राज कुन्द्रले दुरुपयोग गरेको र सो प्रकरणमा आफुले राज बिरुद्ध उजुरी दिएको पनि उनको कथन छ । आफु यो प्रकारणमा निर्दोष रहेको उनले सञ्चारकर्मीसँग जिकिर गरेकी छिन् ।

यसअघि सन् २०२१ मा मुम्बई पुलिसको अपराध शाखाले आरोपपत्र दायर गरेको थियो। साइबर प्रहरीले सन् २०१९ मा यो पूरै मामिलामा मुद्दा दर्ता गरेको थियो । प्रहरीका दाबी अनुसार कुन्द्राको कम्पनीले अश्लिल फिल्म बनाउने अपराधलाई सहजीकरण गरेको थियो । अश्लिल भिडियो काण्डमा शिल्पा शेट्टीका पति राज कुन्द्रा गत वर्ष जुलाई १९ मा पक्राउ परेका थिए र २ महिनापछि उनले सर्वोच्च अदालतबाट जमानत पाएका थिए । तर अहिले फेरी यो प्रकरण उल्टिएको छ ।