सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्षमा खगेन्द्र जीसी निर्वाचित

सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्षमा खगेन्द्र जीसी निर्वाचित


ग्लोब नेपाल
1.5k
Shares

न्यूयोर्क। विश्वभरका समाजवादी विचारधारा अवलम्बन गर्नेहरुको अन्तरराष्ट्रीय संस्था सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्षमा नेपाल पुन:निर्वाचित भएको छ। नेपालका तर्फबाट लामो समयदेखि न्यूयोर्कमा बसेर कानून व्यवसाय गर्दै आउनु भएका नेपाली जनसम्पर्क समिति,अमेरिकाका पूर्व संयोजक खगेन्द्र जीसी निर्विरोध उपाध्यक्ष चयन हुनु भएको हो।

नेपालका तर्फबाट नेपाली कांग्रेस यसको स्थापनाकालदेखि नै सदस्य रही आएको छ। कांग्रेसका संस्थापक सभापति महामानव विश्वेश्वरप्रसाद कोइरालाले यसको सदस्यता लिनु भएको थियो। जसलाई नेपाली कांग्रेसले निरन्तरता दिंदै आएको छ। कोइराला यो संस्थाको उपाध्यक्ष हुनुहुन्थ्यो। यसैगरी यस पहिले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउबा हुनुहुन्थ्यो। देउबा उपाध्यक्ष रहंदा पनि पार्टी र देउबाको प्रतिनिधिको रुपमा जीसीले नेपालको तर्फबाट विभिन्न बैठकमा भाग लिनु भएको थियो।

शनिवार स्पेनको म्याड्रिडमा सम्पन्न यस संस्थाको महासभामार्फत नयाँ नेतृत्व चयन भएको हो। जस अनुसार नेपालको तर्फबाट प्रतिनिधित्व गरेका खगेन्द्र जीसी उपाध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन्। संस्थाको अध्यक्ष स्पेनका प्रधानमन्त्री पेड्रो साँचेज र महासचिवमा घानाका बेनेक्दिटा लासी चयन भएका छन्।

जीसीसंगै महासभामा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका पूर्व सह-संयोजक बेदप्रसाद खरेल पनि सहभागी छन्। महासभामा विभिन्न ११७ देशका ३५० भन्दा बढी प्रतिनिधि सहभागी रहेको खरेलले जानकारी दिएका छन्।

यसैबीच नेपाली टोलीसंगको भेटमा स्पेनका प्रधानमन्त्रीले कोभिड-१९ को बेला नेपाललाई सहयोग गरेको बारे स्मरण गरेका थिए।