शिक्षक सरुवामा रोक !

शिक्षक सरुवामा रोक !


ग्लोब नेपाल
3.8k
Shares

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवामा रोक लगाएको छ । देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई तथा सबै स्थानीय तहलाई निर्देशन दिँदै शिक्षक सरुवा नगर्न भनेको हो ।

शिक्षक सेवा आयोगले यति बेला स्थायी शिक्षकको पदपूर्ति गर्दै आएको छ । खुला विज्ञापन तथा आन्तरिक प्रतियोगिताबाट स्थायी शिक्षकको पदस्थापन गर्ने कार्य अघि बढेको भन्दै केन्द्रले तत्काल शिक्षकको सरुवा नगर्न निर्देशन दिएको हो ।

देशभरका समन्वय इकाईहरूबाट विज्ञापन प्रयोजनका लागि केन्द्रमार्फत शिक्षक सेवा आयोगलाई पत्राचार गरिएको थियो । सोही आधारमा आयोगले शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाएको छ । माध्यमिक तहको भने शिक्षकको सिफारिस समेत गरिसकेको छ । आयोगको सिफारिसको आधारमा केन्द्रले नियुक्ति पत्र लिने प्रक्रिया अगाडि बढाएको छ ।

पदस्थापनको प्रक्रिया अघि बढेकाले रिक्त दरबन्दीमा कुनै पनि किसिमबाट सरुवा गरी स्थायी शिक्षक पदपूर्ति समेत नगर्नु र नगराउन केन्द्रले निर्देशन दिएको हो । शिक्षक सरुवा मात्र नभएर सरुवा सहमति समेत नदिन निर्देशन दिएको हो ।

अब शिक्षक सरुवा गरिएको खण्डमा पदस्थापनमा असर पर्ने भन्दै सरुवा नगर्न भनेको हो । उक्त निर्देशन विपरीत शिक्षकको सरुवा गरेर स्थायी शिक्षक पदस्थापनमा असर पर्न गएमा त्यसको जिम्मेवार सम्बन्धित इकाई र पालिकाले नै लिनुपर्ने केन्द्रले चेतावनी दिएको छ ।