हराएको ४८ वर्षपछि भेटियो मूर्ति

हराएको ४८ वर्षपछि भेटियो मूर्ति


ग्लोब नेपाल
216
Shares

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति ४८ वर्षपछि भेटिएको छ । २०३१ सालमा हराएको अष्ठधातुबाट निर्मित शाक्यमुनि बुद्धको मूर्ति काठमाडौंबाट भेटिएपछि त्यसको प्रतिस्थापन गरिएको छ । बनेपा नगरपालिका र स्थानीयको सक्रियतामा काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्राहलयमा राखिएको शाक्यमुनि बुद्धको मूर्ति बनेपा–८ स्थित बहिभ मन्दिरमा ल्याई प्रस्थिापन गरिएको हो ।

बाजागाजासहित स्थानीय बासिन्दा र नगरपालिकाको संयुक्त पहलमा त्यही ठाउँमा प्रतिस्थापन गरिएको बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले बताए । उनका अनुसार प्रतिस्थापन गर्नुअघि मूर्तिलाई तीनदोबाटोदेखि टेलिकम हुँदै नगर परिक्रमा गरिएको हो । मन्दिरबाटै चोरी भएको बुद्धको मूर्ति २०३५ सालमै काठमाण्डौको एयरपोर्टमा भेटिएर राष्ट्रिय सङ्ग्रहालय छाउनीमा राखिएको राष्ट्रिय संग्राहलयका निर्देशक जयराम श्रेष्ठले बताए ।

उनका अनुसार पुरातत्व विभागको सक्रियतामा मन्दिरको पुनः निर्माणपछि मात्र पूर्ण सुरक्षा र व्यवस्थापनका साथ मूर्तिको प्रतिस्थापनको प्रक्रिया अघि बढेको हो । पुरातत्व विभागले एक करोड रुपैयाँको लगानीमा मन्दिरको पुनः निर्माण गरेको छ । मूर्ति र मन्दिरको सुरक्षाका लागि सीसी क्यामरा, मजबुत संरचनालगायतको व्यवस्थापन विशेष ध्यान दिइएको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिए ।