अधिकांश पूर्वप्रहरी अधिकृतहरु चुनावमा पराजित

अधिकांश पूर्वप्रहरी अधिकृतहरु चुनावमा पराजित

पूर्वमहानिरीक्षक र पूर्वप्रहरी निरीक्षकलाई सफलता



काठमाडौं । प्रहरी सेवाबाट अवकास प्राप्त आधा दर्जनभन्दा बढीले यसपटकको आम निर्वाचनमा उम्मेदवारी दिएका थिए । त्यसमध्ये एकजना मात्र निर्वाचित भएका छन् । नवलपरासी सुस्ता पश्चिमबाट पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान मात्र निर्वाचित भए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका प्रधान उक्त निर्वाचन क्षेत्रबाट पहिलो संविधानसभाको निर्वाचनबाटै चुनाव लड्दै आएका हुन् ।

उक्त निर्वाचन क्षेत्रबाट प्रधान चौथो पटक निर्वाचित भएका हुन् । उनले पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई भारी मतान्तरले पराजित गरेका हुन् । उनले ३४ हजार ९ सय ५९ मत ल्याउँदा कणेलले १९ हजार ५ सय ९४ मत पाएका थिए ।

पूर्व प्रहारी महानिरीक्षक सर्वेन्द्र खनाल काठमाडौं–६ मा स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भए । नेकपा एमालेबाट उम्मेदवार बनेका खनालले ८ हजार ९ सय ११ मत प्राप्त गरेका थिए । विजयी खनालले भने १४ हजार २ सय ४ मत प्राप्त गरेका थिए ।

पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज सिलवाललाई यसपटक सफलता प्राप्त भएन । नेकपा एमालेबाट चुनाव लड्का सिलवाल ललितपुर–१ मा उनी कांग्रेस उदयशमशेर राणासँग पराजित भएका हुन् । सिलवालले १९ हजार २ सय ७८ मत प्राप्त गर्दा जबराले २३ हजार ८ सय ९२ मत पाएका थिए ।

यसैगरी अर्का पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक रमेश खरेल नेपाल सुशासन पार्टीबाट उम्मेदवार बनेका थिए । पाँचौं स्थानमा रहेको खरेल चर्चामा आए जसरी जनताको मत बटुल्न सकेनन । उनले २ सय २६ मत मात्र प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशतर्फ पूर्व एसएसपी विक्रमसिंह थापालाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको थियो । थापा कपिलवस्तु–२ (१) बाट उम्मेदवार बनेका हुन् । उनी एमालेका नवराज लामिछानेसँग पराजित भएका हुन् । लामिछानेले २१ हजार १ सय ३६ मत प्राप्त गर्दा थापाले २० हजार ६ सय १४ मत प्राप्त गरेका थिए ।

सर्लाही–१ बाट निर्वाचित रामप्रकाश चौधरीको पृष्ठभूमि पनि प्रहरी नै हो । लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित चौधरी प्रहरी निरीक्षकबाट अवकास लिएका हुन् । उनले २४ हजार ८ सय ३८ मत ल्याएर स्वतन्त्र उम्मेदवार मानवबहादुर खड्कालाई पराजित गरेका हुन् । खड्काले १८ हजार ४०४ मत प्राप्त गरेका थिए ।