४ हजार शिक्षकको दरबन्दी थपिँदै

४ हजार शिक्षकको दरबन्दी थपिँदै


ग्लोब नेपाल
4.7k
Shares

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ । यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो ।

केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको सङ्ख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ । केन्द्रले प्राथमिक तहका लागि ३ हजार १ सय ८६, निम्न माध्यमिकमा ४ सय २३ र माध्यमिक तहमा ३ सय ३२ पद रिक्त रहेको जनाएको छ ।

शिक्षक सेवा आयोगको नियमावली २०५७ को उपनियम ८ को ४ बमोजिम चालु शैक्षिक सत्रको असोज मसान्तसम्म विवरण पठाइसक्नुपर्ने व्यवस्था छ । सोही आधारमा केन्द्रले विवरण पठाएको हो ।

केन्द्रले पठाएको विवरणको आधारमा आयोगको नियमावली– २०५७ को नियम ११ ‘क’ बमोजिम कार्तिक महिनामा खुला तथा समावेशी समूहको प्रतिशत निर्धारण गरी विज्ञापन खुला गर्नुपर्नेछ । गत वर्ष करिब १७ हजार पद संख्यामा आवेदन माग गरिएको थियो । यो वर्ष उक्त संख्या ह्वात्तै घटेको छ ।

गत वर्ष माध्यमिक तहमा सिफारिस नभएका ३ सय ७० जना पनि यस पटकको विज्ञापनमा समेटिने व्यवस्था गरिएको छ । गत वर्ष आयोगले प्राथमिक तहमा १३ हजार ८५, निम्न माध्यमिक तहमा २ हजार ५ सय ९४ र माध्यमिक तहमा १ हजार ५ सय ५२ पद संख्यामा आवेदन खुलाएको थियो । त्यसमध्ये हालसम्म माध्यमिक तहमा शिक्षक छनोट गरी सिफारिस गरिसकिएको छ ।