एनआरएनएले झापामा गर्‍यो स्वास्थ्य शिविर

एनआरएनएले झापामा गर्‍यो स्वास्थ्य शिविर


ग्लोब नेपाल
0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा झापाको दमकमा स्वास्थ्य शिविर भएको छ ।

समितिका अध्यक्ष डा संजिव सापकोटाका अनुसार दमक नगरपालिका, दमक रेडक्रस र केआइएसको सहकार्यमा शनिबार आयोजित शिविरमा १५० भन्दा बढीले स्वास्थ्य जाचँ गराएका छन् । शिविरमा मिर्गौला, मधुमेह, हृदय रोग र उच्च रक्तचाप सम्बन्धी रोगका बिरामीको चेकजाँच भएको छ ।

शिविरमा ल्याब प्राविधिकले रगत क्रिएटिनिन, एचबीइवनसी लिपिड स्पेक्ट्रम, रगत, रेडियोग्राफी एक्सरे, इकोकार्डियोग्राफी, एकेजी मापन गर्न अत्याधुनिक उपकरणहरू प्रयोग गरेको स्वास्थ्य समितिले जनाएको छ । शिविरमा तीस भन्दा बढी विशेषज्ञ डाक्टर, नर्स, मेडिकल प्यारामेडिकहरूले चिकित्सा परामर्श प्रदान गरेका थिए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा सञ्जीव शर्माले स्वास्थ्य शिविरमा नआउने व्यक्तिको मुटुमा भएको रोग पत्ता लगाउन मद्दत गर्ने इको कार्डियोग्राफी गराएका थिए । साथै बीपीकेआईएचएस र चितवन मेडिकल कलेजसँग सम्बन्धित धेरै डाक्टरहरूले चिकित्सा परामर्श प्रदान गरे।

स्वास्थ्य शिविरमा एनआरएनए स्वास्थ्य समितिका डा सागर पौडेल र डा सञ्जीव सापकोटाले स्वास्थ्य सेवा प्रदान गरेका थिए । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको गत साता सम्पन्न बैठकले झापा, मोरङ, सुनसरी र गाईघाटमा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको थियो ।