जनताले गठबन्धन अस्वीकार गरे: एमाले

जनताले गठबन्धन अस्वीकार गरे: एमाले


ग्लोब नेपाल
1.2k
Shares

काठमाडाैं । मंसिर ४ मा सम्पन्न निर्वाचनले गठबन्धनलाई अस्वीकार गरेको नेकपा एमालेको ठहर छ। नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको आह्वान गर्दै पाँच दल चुनावमा गए पनि त्यसलाई जनताले अस्वीकार गरेको एमालेले जनाएको छ। बहुमतको आह्वानसहित निर्वाचनमा होमिए पनि गठबन्धन दलहरूलाई आवश्यक सिट संख्या अपुग भएको थियो।

समानुपातिकको मतलाई आधार मान्ने हो भने एमाले सबैभन्दा ठूलो दल भएको छ तर प्रत्यक्ष र समानुपातिकको सिट संख्या हेर्दा कांग्रेस ठूलो दल भएको छ। यसले गर्दा एमालेले गठबन्धन दलहरूलाई बहुमत नदिएको र जनताले अस्वीकार गरेको जनाएको हो। निर्वाचन आयोगले दिएको जानकारीअनुसार एमालेले प्रदेशसभामा ७० सहित १०४ सिट पाएको छ। उसले प्रतिनिधिसभामा ३४ सिट पाएको छ। समानुपातिकतर्फ दोस्रोमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२ सिट पाएको छ भने प्रदेशसभामा ६४ सिट पाएको छ। माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २९ सहित ४३ सिट जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा १३ सिट पाएको छ। प्रदेशसभामा उसले उम्मेदवारी दिएको थिएन।

बुधबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकले मंसिर २९ भित्र निर्वाचनको समीक्षा रिपोर्ट पठाउन ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएको छ। निर्वाचनका क्रममा थोरै मतले हारजित भएका जिल्ला र उम्मेदवारका विषयमा पनि टीकाटिप्पणी उठेका बेला बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालय बैठकले मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको समीक्षा रिपोर्ट मंसिर २९ भित्र केन्द्रमा पठाइसक्न निर्देशन दिएको हो।

एमाले सचिव योगेश भट्टराईका अनुसार अहिलेको अवस्थामा सबै जिल्लाको रिपोर्ट आएपछि नै कहाँ र कुन अवस्थामा के भएको भन्नेबारेमा थप समीक्षा हुने छ। साथै बैठकले पार्टी अध्यक्ष केपी ओलीको परामर्शमा चाँडै केन्द्रीय सचिवालय बैठक बोलाउने निर्णयसमेत गरेको छ।
आजको नागरिक दैनिकबाट