प्रदीप पौडेल र कुलमान घिसिङबीच भेट

प्रदीप पौडेल र कुलमान घिसिङबीच भेट


ग्लोब नेपाल
432
Shares

काठमाडौँ । काठमाडौँ ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रलाई नाङ्गो ताररहित बनाउन पहल सुरु गरेका छन् । यसै क्रममा उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग बुधबार छलफल गरेका छन् ।

पौडेलले प्राधिकरणमै पुगेर घिसिङसँग काठमाडौँ ५ सहित उपत्यकामा रहेका नाङ्गो तारको समस्या समाधान गर्न आग्रह गरे ।

उनले विद्युत् पोललाई यथाशक्य चाँडो प्रतिस्थापन गरी तारलाई भूमिगत गर्न, पोल प्रतिस्थापन भएका ठाउँमा भएका खाल्डा पुर्न र सम्पूर्ण नाङ्गा तारलाई कालो तारले प्रतिस्थापन गर्न आग्रह गरे । जवाफमा कार्यकारी निर्देशक घिसिङले कतिपय स्थानमा तार भूमिगत गर्ने काम भइरहेको र कतिपय स्थानमा अवरोध सिर्जना भएको जानकारी गराए ।

मुख्य सडक क्षेत्रमा काम भइरहेको र भित्री सडकमा साँघुरो बाटो र ढल एकै ठाउँमा भएका कारण काम गर्न अप्ठ्यारो भएको उनले बताए । तर, तीन वर्षभित्रमा यस्ता काम सम्पन्न हुने घिसिङको भनाइ छ ।

उनले समस्या समाधान गर्न काठमाडौँमा २० वटा सब स्टेसन निर्माण गर्ने र यसैअन्तर्गत टोखा नगरपालिकामा पनि एउटा स्टेसन रहने जानकारी गराए ।