विवाह भएको ७ महिनामै दीपाले किन गरिन आत्महत्या ?

विवाह भएको ७ महिनामै दीपाले किन गरिन आत्महत्या ?


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानी घर भएकी दीपा पराजुली थापाको शङ्कास्पद मृत्यु भएको छ ।मङ्सिर १९ मा चिसापानी स्थित घर नजिकै जङ्गलमा नेलको रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटियो ।

२०७९ वैशाख अन्तिमतिर चिसापानी घर भएका ३० वर्षीय सुन्दर थापासँग उनको विवाह भएको थियो । विवाह भएको ७ महिनामा उनले ज्यान गुमाएकी हुन् । २५ वर्षीया दीपाको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

चन्द्रागिरि नगरपालिका–१२ स्थित जम्बुटोल उनको माइती हो । दीपाका माइती पक्षले उनको हत्या भएको दाबी गरेका छन् । दीपाका श्रीमान् सुन्दर थापालाई ‘ज्यान सम्बन्धी कसुर’मा मुद्दा चलाउन माइती पक्षले माग गरिरहेका छन् ।

पैसाको लागी टर्चर दिएर सुन्दरले छोरीको हत्या गरेको दीपाका बुवा रत्नप्रसाद पराजुलीको दाबी छ । उनले भने–‘मेरी छोरीको हत्या भएको हो, निष्पक्ष अनुसन्धान गरेर कारबाही हुनुपर्छ ।’

दीपाका श्रीमान् सुन्दरलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न अस्वीकार गरेको मृतकका बुवाले बताए । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार दीपाको शरीरमा बाहिरी चोटपटक छैन । सलमा पासो लागेर झुन्डिएको अवस्थामा भेटिएकी उनको घाँटीमा डोब देखिएको छ । प्रहरीले आरोपीलाई आत्महत्या दुरुत्साहन मुद्दा चलाउने तयारी गरेको छ । तर, माइती पक्षले ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने माग राखेका छन् । आफ्नी छोरी रुख चढ्न नजान्ने र चप्पल लगाएरै झुन्डिएको हुनाले हत्या गरेर झुन्ड्याएको हुनसक्ने बुवा रत्नप्रसादले दाबी गरेका छन् ।