अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ‘रुइबा’ उपन्यासलाई

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ‘रुइबा’ उपन्यासलाई


ग्लोब नेपाल
135
Shares

काठमाडौं। २०७८ सालाको अरनिको अन्तर्राष्ट्रीय पुरस्कार चीनमा बसोवास गर्ने साहित्यकार चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिने भएको छ। यो पुरस्कार हरेक वर्ष गैर आवासीय नेपालीहरुले लेखेका कृतिहरु मध्ये उत्कृष्ठ एक कृतिलाई प्रदान गरिन्छ।

गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समितिले २०७७ सालदेखि प्रदान गर्न थालेको पुरस्कारको राशी दुई लाख रुपैंया र सम्मान-पत्र रहेको छ। अरनिको पुरस्कार व्यवस्थापन समितिको बिहीवारको बैठकले समितिमा प्राप्त कृति मध्ये आचार्यको उपन्यास ‘रुइबा’ लाई उत्कृष्ठ चयन गर्दै पुरस्कृत गर्ने निर्णय गरेको पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिनु भएको छ।

तामाङ परिवेशमा आधारित यस कृतिमा लेखकले तामाङ पात्र र परिवेश मार्फत् गहन विषयलाई पाठकमाझ प्रस्तुत गरेका छन् । उपन्यासमा ‘न्याउली’ नामक महिला पात्रको जीवनपर्यन्तको सङ्घर्षलाई बडो मिहिन किसिमले प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारीका नाममा कसरी निमुखा ब्यक्तिहरूलाई कहालीलाग्दो कुचक्रमा पारिन्छ भन्ने कुरा निकै प्रखर रूपमा यस कृतिमा उद्घाटित गरिएको छ । यो उपन्यासले एउटा महत्त्वपूर्ण मुद्दालाई आधिकारिक किसिमले उठाएको छ ।

पुरस्कृत कृति ‘रूइबा’ का लेखक चेतनाथ अधिकारीलाई गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच यो पुरस्कार प्रदान गर्नेछ ।

यस पहिले समितिले पुरस्कारकालागि प्राप्त र सिफारिस गरिएका पुस्तकमध्ये उत्कृष्ट पाँच कृति घोषणा गरेको थियो जसमा चेतनाथ आचार्यको ‘रूइबा’ का अतिरिक्त नगेन्द्र न्यौपानेको ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ (नियात्रा सङ्ग्रह), अजित उत्सवको ‘आकाश गंगाको किनार’ (कविता सङ्ग्रह), दीपा मेवाहाङ्ग राईको ‘यादको सन्दुक ‘ (कविता सङ्ग्रह) र नरेश राईको ‘तेप्लायु’ (कविता सङ्ग्रह) संलग्न थिए ।

यो अन्तर्राष्ट्रीय पुरस्कार पहिलोपटक २०७७ सालमा यो हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो ।