पूर्वाधार विकासका लागि सरकार र निर्माण व्यवसायीबीच सहकार्य आवश्यकः मन्त्री चौधरी

पूर्वाधार विकासका लागि सरकार र निर्माण व्यवसायीबीच सहकार्य आवश्यकः मन्त्री चौधरी


ग्लोब नेपाल
297
Shares

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायहरूबीचको सहकार्य आवश्यक भएको बताएका छन् । सरकार र निर्माण व्यवसायीहरू मिलेर अघि बढेमा मात्र भौतिक पूर्वाधारको ठूला योजना अघि बढ्न सक्ने धारणा मन्त्री चौधरीले राखे ।

१५ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले विहिवार राजधानीमा गरेको प्रभातफेरी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले भौतिक पूर्वाधारको क्षेत्रमा चुनौती रहेको स्वीकार गरे । भौतिक पूर्वाधारको काम जनताको जनजीविका र समृद्धिसँग जोडिएको भन्दै मन्त्री चौधरीले जनताको पक्षमा समयमै गुणस्तरीय तरिकाले काम सक्न निर्माण व्यवसायीहरूलाई सुझाव दिए । ‘व्यवसायीहरूले पाउनु पर्ने रकम निकासा भएको छैन, कानून नै संशोधन गरेर भएपनि यस्तो समस्या समाधान गर्नुपर्छ’ मन्त्री चौधरीले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू नै समृद्धिका सारथी भएको बताए । मुलुकको पूर्वाधार विकासमा सक्रिय निर्माण व्यवसायीहरू अहिले पनि विभिन्न समस्या झेल्न बाध्य भएको अध्यक्ष सिंहले बताए । ‘निर्माण व्यवसायीमैत्री कानुन नभएसम्म निर्माण उद्योगले गति लिन सक्दैन’ अध्यक्ष सिंहले भने । विगतका सरकारहरू निर्माण उद्योगको विकास विस्तारमा खासै संवेदनशील नभएको उनले बताए । अब गठन हुने नयाँ सरकारबाट निर्माण व्यवसायीहरूले निर्माण उद्योगको विकास विस्तारमा सकारात्मक परिणामको अपेक्षा गरेको उनको भनाइ थियो ।

महासंघका महासचिव रोशन दाहालले निर्माण दिवस मुलुकको भौतिक समृद्धि चाहने सबैको राष्ट्रिय पर्व भएको धारणा राखे । सोही अवसरमा मन्त्री चौधरीले महासंघको मुखपत्र ‘निर्माण समाचार’ को विमोचन गरेका थिए भने महासंघ अध्यक्ष सिंहले मन्त्री चौधरीलाई मायाको चिनो प्रदान गरिएकाे थियाे । मन्त्री चौधरी समेत सहभागी भएका बाजागाजासहितको प्रभात फेरि दशरथ रंगशालाबाट सुरु भई त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरमा आई टुङगिएको थियो ।

१५ औं राष्ट्रिय निर्माण दिवसकै अवसरमा महासंघ प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रक्तदाताहरूलाई नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाल लगायतले प्रमाणपत्र वितरण गरेका थिए । यसैबीच प्रदेश महासंघहरू तथा जिल्ला निर्माण व्यवसायी संघहरूले पनि विविध कार्यक्रम गरी १५ औं निर्माण दिवस मनाएको महासंघका प्रवक्त समेत रहेका उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेले जानकारी दिए ।