नुप्चे-लिखु जलविद्युत आयोजनाकाे बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिट नियुक्त

नुप्चे-लिखु जलविद्युत आयोजनाकाे बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिट नियुक्त


ग्लोब नेपाल
108
Shares

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवद्र्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको “नुप्चे लिखु जलविद्युत आयोजना” को रु.१००/- अंकित दरको अधिकतम जम्मा रु.६५,००,००,०००/- (अक्षरेपी पैंसट्ठी करोड रुपैयाँ मात्र) रकम बराबरको कुल ६५,००,००० (पैसठ्ठी लाख) कित्ता साधारण शेयर (आफ्नो जारी पूँजीको १० प्रतिशत शेयर अर्थात ३२ लाख ५० हजार थान शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र कम्पनीको जारी पूँजीको अधिकतम १० प्रतिशत शेयर अर्थात् ३२ लाख ५० हजार थान शेयर सर्वसाधारणका लागि) को सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौलाई नियुक्त गरिएको छ ।

“राष्ट्रको समृद्धिको लागि ऊर्जा” भन्ने नाराका साथ विभिन्न पेशाकर्मी र अनुभवी व्यक्तित्वहरु एकजुट भएर भिजन इनर्जी एण्ड पावर लिमिटेड (VEPL) नामक कम्पनीको स्थापना भएको हो । संस्थागत सुशासन तथा संस्कृतिलाई व्यवहारमै उच्च प्राथमिकतामा राख्दै सोही अनुसार अघि बढिरहेको यो कम्पनीले ISO 9001:2015 प्रमाण पत्र समेत प्राप्त गरेको छ । VEPLले ऊर्जा उत्पादन गर्ने कम्पनीहरुमा लगानी गर्ने (पानी, वायु, सौर्य ऊर्जा, वायो ग्याँस जस्ता वैकल्पिक ऊर्जा श्रोतहरुको प्रयोग गरेर साना वा मझौला आयोजनाहरु मार्फत) र ऊर्जा सम्बन्धित परियोजनाहरु आफै निर्माण गर्ने गर्दछ ।

हाल यस कम्पनीले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गा.पा. वडा नं. १ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ । आयोजनाको कुल हेड १००३.५० मिटर र डिजाइन डिस्चार्ज 7.11 M3/Sec रहेको छ । उच्च हेड भएर यो अवस्थासम्म निर्माण भइरहेको नेपालको यो पहिलो आयोजना हो । विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको यस कम्पनीले विद्युत खरिद–बिक्री सम्झौता, वित्तिय व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन गरिसकेको छ । सरकारी स्वामित्व रहेको Hydroelectricity Investment and Development Company को लगानी रहेको यस कम्पनी निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न दृढतापूर्वक अगाडि बढिरहेको छ ।

भिजन इनर्जी एण्ड पावर लि. का तर्फबाट कार्यकारी अध्यक्ष टि.एन. आचार्य तथा एनआइबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौतापत्रमा २०७९ मङ्सिर २३ गते हस्ताक्षर गरेका छन् ।