आमनिर्वाचनको अन्तिम परिणामपछि कुन दलमा कति सांसद ?

आमनिर्वाचनको अन्तिम परिणामपछि कुन दलमा कति सांसद ?


ग्लोब नेपाल
324
Shares

काठमाडौं । आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको छ । राष्ट्रपतिसमक्ष निर्वाचन नतिजा पेस भएसँगै सरकार गठनको बाटोसमेत खुलेको छ । 

सरकार गठनका लागि दलहरूबीच दौडधुप सुरु हुँदा विभिन्न राजनीतिक दलले विभिन्न संख्यामा सिट संख्या पाएका छन् ।  यद्यपि एक्लै सरकार बनाउन सक्ने हैसियतमा कुनै दलसँग पनि बहुमत देखिँदैन । आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । उसले प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी कूल ८९ सिट प्राप्त गरेको छ । 

यस्तै नेकपा एमालेले ७८ सिट पाएको छ भने नेकपा माओवादी केन्द्रले ३२ जितेको छ । नेपालकै कान्छो पार्टीका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा २० सिट पाएको छ । 

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीबाट १२, नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जना सांसद बनेका छन् । 

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाबाट १/१ जना निर्वाचित भएका छन् । स्वतन्त्र ५ जना सांसद स्वतन्त्र रूपमा निर्वाचित बनेका छन् ।